पोखरा, ८ फागुन। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई तानाशाही प्रवृत्तिको भन्दै आलोचना गरेका छन्। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जेलेन्स्कीबारे टिप्पणी गर्दै उनलाई ‘चुनावविनै राष्ट्रपति बनेको तानाशाह’ भनेका छन्।

ट्रम्पको टिप्पणी जेलेन्स्कीले रुसले गलत सूचना फैलाएको र त्यसबाट ट्रम्प पनि भ्रममा परेको बताएकाे केही समयपछि आएको हो। ट्रम्पले युक्रेनको अवस्था बिग्रिएको र लाखौं मानिस मारिएको दाबी गर्दै जेलेन्स्कीको नेतृत्व असफल भएको बताएका छन्।

जेलेन्स्कीको कार्यकाल सन् २०२४ को मे महिनामा समाप्त हुने भए पनि सन् २०२२ देखि सुरु भएको युद्धका कारण युक्रेनमा चुनाव हुन सकेको छैन। ट्रम्पले जेलेन्स्कीलाई ‘एक औसत कमेडियन’को संज्ञा दिँदै अमेरिकाले युक्रेनलाई सहयोगस्वरूप दिएको ३५० अर्ब डलरको आधा रकम गायब पारिएको आरोप पनि लगाएका छन्।

उनले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि समेत आक्रोश पोख्दै अमेरिकाले युक्रेनको युद्धमा युरोपभन्दा २०० अर्ब डलर बढी खर्च गरेको तर अमेरिकाले केही फाइदा नपाएको टिप्पणी गरेका छन्। ट्रम्पले यो युद्ध रोक्ने क्षमता आफूमा मात्र रहेको दाबीसमेत गरेका छन्।

बीबीसीको फ्याक्टचेक अनुसार हाल पनि ५७ प्रतिशत युक्रेनी जनता जेलेन्स्कीको पक्षमा रहेको देखिए पनि ट्रम्पले उनको लोकप्रियता निकै घटिसकेको दाबी गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0