पोखरा, ८ फागुन। दिल्ली विधानसभा चुनावमा पहिलोपटक निर्वाचित भएकी रेखा गुप्ता भारतीय जनता पार्टी (बीजेपी) की तर्फबाट दिल्लीको नवौँ तथा चौथी महिला मुख्यमन्त्री बन्ने निश्चित भएको छ। विधानसभामा बीजेपीको स्पष्ट बहुमत आएपछि उनले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएकी हुन्।

५ फेब्रुअरीमा सम्पन्न विधानसभाको चुनावमा गुप्ताले आम आदमी पार्टी (आप) की उम्मेदवार बन्दना कुमारीलाई २९ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै पहिलोपटक विधानसभा प्रवेश गरेकी थिइन्। बीजेपीले ७० सदस्यीय विधानसभा चुनावमा ४८ सिट जित्दै २७ वर्षपछि दिल्लीको सत्तामा पुनः फर्किएको हो। पार्टीका शीर्ष नेताहरूबीच चलेको छलफलपछि विधायक दलको बैठकले उनलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको थियो।

५० वर्षीया गुप्ताले बिहीबार रामलीला मैदानमा मुख्यमन्त्रीको शपथ लिनेछिन्। उनी राजनीतिमा नौलौ नाम भने होइनन्। विद्यार्थी जीवनदेखि नै सक्रिय राजनीतिमा संलग्न गुप्ता अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) मार्फत दिल्ली विश्वविद्यालयको विद्यार्थी युनियन सचिव हुँदै अध्यक्षसम्म बनेकी थिइन्। त्यसपछि उनी बीजेपीको दिल्ली महिला मोर्चामा सक्रिय रहँदै राष्ट्रिय कार्यकारिणी समितिमा पुगिन्।

सन् २००७ मा उत्तर पीतमपुरा क्षेत्रबाट काउन्सिलर निर्वाचित भएपछि उनले सार्वजनिक पुस्तकालय, पार्क तथा पौडी पोखरी जस्ता पूर्वाधार निर्माणमा जोड दिएकी थिइन्। त्यसपछि २०१२ मा उनी दक्षिण दिल्ली नगर निगम (एसडीएमसी) को मेयर बनिन्। उनी महिला सशक्तिकरणका क्षेत्रमा सक्रिय रहँदै ‘सुमेधा योजना’ ल्याइन्, जसले आर्थिक रूपमा कमजोर महिला विद्यार्थीलाई उच्च शिक्षामा पहुँच पुर्‍याउन सहयोग गर्‍यो।

‘मेरो काम नै मेरो पहिचान हो’ भन्ने नारा चुनावी अभियानभर घन्काएकी गुप्ताले छोटो समयमै मुख्यमन्त्रीको कुर्सी हासिल गरेकी छन्। अब उनले आफ्नो नेतृत्वदक्षता प्रमाणित गर्दै दिल्लीवासीका लागि नयाँ नीति तथा कार्यक्रम लागू गर्न कत्तिको सफल हुन्छिन् भन्ने भने भविष्यले देखाउने छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0