पोखरा, ८ फागुन। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन्। पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहका क्रममा बेलुन विस्फोट हुँदा घाइते भएका उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो। सोही विस्फोटमा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि घाइते भएका थिए। पौडेल दुई दिनअघि नै डिस्चार्ज भइसकेका थिए भने मेयर आचार्य आज अस्पतालबाट बाहिरिएका हुन्।

बेलुन विस्फोटपछि प्रारम्भिक उपचारका लागि मेयर आचार्यलाई पोखराको फिस्टेल अस्पताल र उपप्रधानमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज लगिएको थियो। चिकित्सकको सल्लाहअनुसार उनीहरूलाई थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर अस्पताल लगिएको थियो। उपचारपछि उपप्रधानमन्त्री पौडेल फागुन ५ गते डिस्चार्ज भए भने मेयर आचार्य आज अस्पतालबाट बाहिरिएका हुन्।

डिस्चार्ज भएपछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मेयर आचार्यले आफ्नो उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन्। उनले अस्पतालको सघन उपचार व्यवस्थापन, चिकित्सकको निगरानी, तथा स्वास्थ्यकर्मीहरूको समर्पणप्रति विशेष धन्यवाद दिएका छन्।

उनले पोखराको पर्यटन प्रवर्द्धन गर्दै ‘समृद्ध पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार’को लक्ष्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, पोखरा भ्रमण वर्षलाई सफल बनाउन सबै पक्षसँग सहकार्य आवश्यक रहेको पनि बताएका छन्।

उनको उपचारमा संलग्न चिकित्सकहरूमा प्रा. डा. शङ्करमान राई, डा. किरण नकर्मी, प्रा. डा. वि.डी. झा, डा. प्रवीण गिरी, डा. विशाल कार्की, डा. मनिष यादव, डा. प्रयुष अर्याल, फिजिसियन डा. प्रतीक राजकर्णिकार, हृदयरोग विशेषज्ञ डा. विनय कुमार अधिकारी, मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान् कोइराला, प्रा. डा. अर्जुन कार्की, प्रा. डा. अजय कार्की लगायतको टोली संलग्न थियो। मेयर आचार्यले उनीहरू सबैप्रति विशेष आभार व्यक्त गरेका छन्।

उनले पोखराका स्वास्थ्य संस्थाहरू फिस्टेल अस्पताल र गण्डकी मेडिकल कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको भूमिका पनि महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। प्रारम्भिक उपचारदेखि डिस्चार्जसम्मको प्रक्रियामा संलग्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिंदै उनले जलन उपचारमा कीर्तिपुर अस्पतालले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेका छन्।

साथै, उनले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्ण शुभेच्छुक, शुभचिन्तक, राजनीतिक दलका नेताहरू, सरकारी अधिकारीहरू, सञ्चारकर्मी तथा आम नागरिकहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्। पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ब्रान्डिङ गर्दै पोखरा भ्रमण वर्षलाई सफल बनाउन आफू अझ उत्साहित रहेको उनको भनाइ छ।

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटनका क्रममा भएको उक्त दुर्घटनालाई उनले एक ‘अनपेक्षित प्राविधिक त्रुटि’का रूपमा व्याख्या गरेका छन्। साथै, आगामी दिनमा यस्ता कार्यक्रमहरूको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0