पोखरा, ८ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा दलगत रूपमा उम्मेदवार खडा नगर्ने निर्णय गरेको छ। तर, योग्य र स्वतन्त्र उम्मेदवारलाई सघाउन भने आह्वान गर्ने बताएको छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचनको तयारी तीव्र बनेको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलहरूले आफ्ना विद्यार्थी संगठनमार्फत प्रतिस्पर्धा गर्दै चुनावी रणनीति तय गरिरहेका छन्। तर, संसद्को चौथो ठूलो दल रास्वपाले भने आफ्नो स्पष्ट नीति सार्वजनिक गर्दै विद्यार्थी संगठन नै नबनाउने बताएको छ।

रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार पार्टीले कुनै पनि उम्मेदवार उठाउने छैन। ‘स्वतन्त्र विद्यार्थी युनियन स्वतन्त्र नै हुनुपर्छ। हाम्रो पार्टीको नाम स्वतन्त्र भएजस्तै स्ववियुको चरित्र पनि स्वतन्त्र हुनुपर्छ,’ उनले भने।

बुर्लाकोटीका अनुसार विद्यार्थी हकहित, शैक्षिक सुधार र पारदर्शी नेतृत्वलाई प्राथमिकता दिइनुपर्छ। उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका उपयुक्त व्यक्तिहरूलाई समर्थन गर्न भने पार्टीले आह्वान गर्ने जानकारी दिए।

यसपटक स्ववियु निर्वाचन आंगिकतर्फ ६२ र सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा हुन गइरहेको छ। २०७९ चैतमा भएको निर्वाचनमा ९ वटा क्याम्पसमा मतदान हुन सकेको थिएन। यो पटक भने विश्वविद्यालय प्रशासनले स्ववियु निर्वाचनलाई निष्पक्ष र व्यवस्थित बनाउने तयारी गरिरहेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0