पोखरा, ८ फागुन। ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विरोधमा प्रदर्शन भइरहेको बेला बिहीबार पुनः झडप भएको छ। झडपमा ११ जना प्रहरी र १ जना प्रदर्शनकारी घाइते भएका छन्।

‘नो केबलकार’ अभियानका समर्थकहरूले वृहत् सद्भाव र्‍याली निकाल्दै केवलकारको बेस स्टेसनतर्फ अघि बढेपछि स्थिति तनावग्रस्त बनेको थियो। ‘केबलकार बन्द गर’ भन्दै आन्दोलनकारीहरूले नाराबाजी गरेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो। दुवै पक्षबीच ठेलमठेल हुँदा झडपको अवस्था सिर्जना भएको थियो।

स्थिति नियन्त्रण गर्न प्रहरीले सात राउन्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ। आन्दोलनकारीहरू झन् आक्रोशित हुँदै अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गर्न बाध्य भएको थियो। प्रदर्शनकारीहरूले भने प्रशासनले आफ्ना मागलाई बेवास्ता गरेको आरोप लगाएका छन्।

पाथीभरा क्षेत्रमा केबलकार निर्माणका पक्ष र विपक्षमा मत बाँडिएको छ। स्थानीयवासीको एक समूह विकास र पर्यटन प्रवर्द्धनका लागि केबलकार आवश्यक रहेको बताउँछ भने अर्को पक्षले धार्मिक र सांस्कृतिक महत्वलाई असर पार्ने भन्दै विरोध जारी राखेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0