पोखरा, ८ फागुन। लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयद्वारा आयोजित पर्यटन नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले पर्यटन बजेटलाई प्रतिफल दिने क्षेत्रमा मात्र केन्द्रित गर्नुपर्ने सुझाव दिएका छन्। बुटवलमा बिहीबार सम्पन्न कार्यक्रममा उनीहरूले तीन तहका सरकारहरूले पर्यटनको नाममा साना आयोजनाहरूमा बजेट छर्दा अपेक्षित परिणाम नआउने बताएका थिए।
कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले पर्यटन कार्यक्रम सम्भावनायुक्त स्थानहरूमा मात्र केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले रोजगार सिर्जना गर्न सक्ने स्थानहरूमा मात्र योजना ल्याउन स्थानीय तहलाई आग्रह गरे। साथै, संघ सरकारले दस-दस लाखका योजना वितरण गर्नु उचित नभएको भन्दै तीनै तहका सरकारको आ-आफ्नै दायित्व स्पष्ट हुनुपर्ने बताए।
पर्यटन नीतिको मस्यौदा प्रस्तुत गर्दै पर्यटन विज्ञ रमेशकुमार अधिकारीले आकर्षक गन्तव्यहरूको सूचीकृत गर्दै युवाहरूलाई पर्यटन व्यवसायमा संलग्न गराउन आवश्यक रहेको उल्लेख गरे। उनले पर्यटन प्रवर्द्धनका लागि सार्वजनिक-निजी साझेदारीको आवश्यकतामा पनि जोड दिए।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उत्तर र दक्षिणका गन्तव्यलाई जोड्ने गरी कार्यक्रम अघि बढाइरहेको जानकारी दिए। उनले कालिगण्डकी करिडोरमार्फत भारतदेखि मुक्तिनाथसम्म र चीनको कोरोलाबाट लुम्बिनीसम्मको धार्मिक यात्रा योजना रहेको बताए।
यसैगरी, पर्यटन परिषद् लुम्बिनीका कार्यकारी निर्देशक रामु जोसीले स्थानीय तहमा पनि पर्यटन विकास समिति आवश्यक रहेको बताए। लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले बृहत्तर लुम्बिनी क्षेत्रलाई समेटेर नीति बनाउनुपर्ने धारणा राखे।
संस्कृति तथा पर्यटनविद् डा. गितु गिरिले पर्यटकीय सेवाहरू गुणस्तरीय हुनुपर्नेमा जोड दिइन्। कार्यक्रममा पर्यटन मन्त्रालयका प्रवक्ता गणेश घिमिरेले प्रदेश सरकारले अघि सारेका योजनाहरूको जानकारी गराएका थिए।




























