पोखरा, १० फागुन। मुक्कुमलुङ (पाथीभरा) पदयात्राका लागि ताप्लेजुङ आएका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोलाई शनिबार फुङलिङमा एक समूहले कालोझण्डा देखाएको छ। फुङलिङस्थित होटेल प्यारिज वरपर केही महिलासहितको समूहले महतोलाई ‘विकास विरोधी’ भन्दै विरोध जनाएको थियो।
उक्त समूहले शान्तिपूर्ण पदयात्राको नाममा झडप भड्काउने उद्देश्य राखिएको आरोप लगाउँदै महतोलाई कालोझण्डा देखाएको बताएको छ। महतो गाडीमा सवार रहेकाले घटनास्थलबाट रोकिएनन् र सोझै अघि बढे।
‘नो केबलकार पक्ष’ले पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोध गर्दै आएको छ। यही क्रममा फागुन ६ देखि ८ गतेसम्म मुक्कुमलुङ पदयात्रा आयोजना गरिएको थियो, जसमा महतो पनि सहभागी भएका थिए। उनी बिहीबार पदयात्रा सकिएपछि पाथीभराबाट फुङलिङ फर्कने क्रममा विरोधको सामना गर्न पुगे।
यसअघि बिहीबार मात्रै केवलकार निर्माणाधीन बेस स्टेसन नजिकै सुरक्षाकर्मी र ‘नो केबलकार पक्ष’बीच झडपसमेत भएको थियो। आन्दोलनरत समूहले मुक्कुमलुङलाई सांस्कृतिक र धार्मिक दृष्टिले अति महत्वपूर्ण स्थल भन्दै केवलकार निर्माण रोक्नुपर्ने माग राख्दै निरन्तर विरोध कार्यक्रम गरिरहेका छन्।




























