पोखरा, ११ फागुन। करिब ३८ वर्षदेखि न्यायिक प्रक्रियामा अल्झिएको खाद्य संस्थानको भ्रष्टाचार मुद्दा विशेष अदालतले टुंगो लगाएको छ। विशेष अदालतले नेपाल खाद्य संस्थानको रोल्पा उपशाखामा भएको चामल बिक्री हिनामिना प्रकरणमा डिपो प्रमुख छविलाल केसीलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ।

मुद्दा दर्ता भएको तीन दशकभन्दा बढी समय बितिसकेको थियो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले केसीले संस्थानको रकम लापरबाही र बदनियतपूर्वक हिनामिना गरेको ठहर गर्दै दोषी करार गरेको हो। अदालतले ३ हजार ७ सय ३० रुपैयाँ हिनामिना भएको पुष्टि गर्दै त्यति नै रकम असुल गर्ने आदेश दिएको छ।

सो प्रकरण २०४३ सालमा विशेष प्रहरी विभागले जिल्ला अदालत रोल्पामा दायर गरेको थियो। तर, जिल्ला अदालतले आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको विषय भन्दै मुद्दा विशेष अदालतमा पठाएको थियो। अदालतले केसीलाई तीन महिना कैद सजाय र हिनामिनाको बराबर रकम जरिमाना तिर्नुपर्ने आदेश दिएको छ।

खाद्य संस्थानको रोल्पा डिपो प्रमुख रहेका केसीले चामल बिक्रीबापतको रकम बैंकमा दाखिला नगरी हिनामिना गरेको आरोपमा मुद्दा चलाइएको थियो। क्लर्क प्रेमनाथ योगीले भने आफू बिदामा रहेका बेला सबै जिम्मेवारी हस्तान्तरण गरिसकेको भन्दै दोषमुक्त भएका छन्।

मुद्दाको प्रक्रिया लामो समयसम्म अन्योलमा रहेको थियो। २०५२ सालमा यो मुद्दा मुल्तबीमा राखिएको थियो। तर, २०७९ सालमा जिल्ला अदालतले पुनः मुद्दालाई सक्रिय पार्दै विशेष अदालतमा पठाएको थियो। अन्ततः, विशेष अदालतको फैसलासँगै ३८ वर्ष पुरानो भ्रष्टाचार मुद्दा टुंगिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0