पोखरा, १२ फागुन। स्थलमार्ग भएर नेपाल भित्रिने पर्यटकलाई सीमा क्षेत्रमा स्वागतयोग्य वातावरण सृजना गर्न वीरगन्जका सुरक्षाकर्मी र होटल व्यवसायीबीच सहकार्य अघि बढाइएको छ। पर्यटकको पहिलो अनुभव सुरक्षाकर्मी र होटल व्यवसायीको व्यवहारमा निर्भर रहने भएकाले दुवै पक्षले मर्यादित र सकारात्मक दृष्टिकोण अपनाउनुपर्ने निष्कर्ष निकालिएको छ।
वीरगन्जमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्सा र होटल तथा पर्यटन व्यवसायी संघ पर्साले आपसी समन्वयका साथ पर्यटन प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले होटल व्यवसाय सेवा प्रदान गर्ने क्षेत्र भएकाले पर्यटकलाई सहज अनुभूति गराउनुपर्ने बताए। उनले होटल तथा मसाज सेन्टरहरूमा हुने अवाञ्छित गतिविधिलाई रोक्न व्यवसायीलाई सचेत गराउँदै कानूनी दायराभित्र रहेर काम गर्न सुझाव दिए।
पर्यटकलाई सीमाक्षेत्रमै अनावश्यक झन्झट दिने, होटल व्यवसायीलाई निहुँ खोज्ने जस्ता व्यवहारले पर्यटनमा नकारात्मक प्रभाव पार्ने भएकाले सुरक्षाकर्मीले संयम अपनाउनुपर्ने व्यवसायीहरूको भनाइ थियो। होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले सुरक्षाकर्मी र व्यवसायीबीच समन्वय नहुँदा व्यवसाय सञ्चालनमा समस्या आउने बताए। उनले कानुनी दायराभित्र रहेर व्यवसाय सञ्चालन गर्दा कसैले दुःख दिन नहुने धारणा राखे।
कार्यक्रममा संचारकर्मी युवराज खड्का, राम सर्राफ लगायतले नेपाल प्रवेश गर्ने स्थलमार्गमै पर्यटकलाई स्वागतयोग्य वातावरण मिलाउनुपर्नेमा जोड दिए। होटल व्यवसायीहरूले सुरक्षाकर्मीले निगरानी बढाउनु आवश्यक भए पनि व्यवसाय सञ्चालनमै अवरोध सिर्जना गर्नु नहुने बताए।
वीरगन्जका अनुभवी होटल व्यवसायी पशुपति विक्रम शाह, उषा शाह, सुनिल खेतान लगायतको उपस्थिति रहेको कार्यक्रम होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो।




























