पोखरा, १२ फागुन। जर्मनीमा खस्कँदो अर्थतन्त्र, आप्रवासन र सुरक्षा चासो प्रमुख मुद्दा बनेको संसदीय चुनावमा आइतवार मतदान सम्पन्न भएको छ। यो चुनावलाई अमेरिका र युरोपले विशेष रूपमा नियालेका छन्।

६९ वर्षीय कन्जर्भेटिभ नेता फ्रिडरिख मेर्ज आगामी चान्सलरका रूपमा अगाडि देखिए पनि उनको क्रिश्चियन डेमोक्रेट्स (सीडीयू) पार्टीले सरकार गठन गर्न गठबन्धन आवश्यक पर्नेछ। वर्तमान चान्सलर ओलाफ शोल्ट्सको दलले समेत गठबन्धनको सम्भावना राखेको छ। शोल्ट्स नेतृत्वको सरकार गत वर्ष ढलेको थियो।

चरम दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) दोस्रो ठूलो दलका रूपमा देखा पर्न सक्ने अनुमान छ। मेर्जले एएफडीसँग कुनै पनि सम्झौता नगर्ने अडान लिएका छन्। चरम दक्षिणपन्थी विचारधारा बोकेको यो पार्टी विशेषगरी आप्रवासन मुद्दामा कठोर नीतिको पक्षमा उभिएको छ।

जर्मनीका ५ करोड ९२ लाख योग्य मतदातामध्ये धेरैले मतदान अगावै हुलाकमार्फत मत दिइसकेका थिए। सर्वेक्षणहरूका अनुसार झन्डै २० प्रतिशत मतदाता अन्तिम समयसम्म पनि अनिर्णीत थिए। प्रारम्भिक परिणाम आइतवार साँझसम्म आउने अनुमान गरिएको छ।

चुनावी अभियानका क्रममा मेर्जले युरोपमा बलियो नेतृत्व दिने प्रतिबद्धता जनाए। तर, जर्मनीभित्र सैन्य बजेट कटौतीको आन्तरिक दबाब छ। देश युक्रेनलाई सैन्य सहायता गर्ने प्रमुख राष्ट्रमध्ये एक हो, जसले पश्चिमा शक्तिहरूबीच मतभेद निम्त्याएको छ।

चरम दक्षिणपन्थी दल एएफडीले जर्मनीलाई युरोपेली संघ (ईयू) बाट अलग गर्ने, आणविक उर्जा पुनःस्थापना गर्ने तथा आप्रवासी विरोधी नीतिहरू अघि सारेको छ। पछिल्लो समय टिकटकजस्ता डिजिटल माध्यमबाट एएफडीले युवा मतदाता आकर्षित गरेको देखिन्छ।

जर्मनीमा कुनै पनि दलले बहुमत हासिल नगर्ने आकलन गरिएको छ। संसद्मा स्थान सुरक्षित गर्न दलहरूले कम्तीमा पाँच प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ। संसद् ‘बुन्डस्टाक’मा ६३० सिट रहेकाले बहुमत प्राप्त गर्न गठबन्धन अनिवार्य हुने देखिन्छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0