पोखरा, १२ फागुन। जर्मनीको आमनिर्वाचनमा फ्रिडरिख मेर्ट्स नेतृत्वको कन्जर्भेटिभ दल क्रिश्चन डेमोक्र्याट्स (सीडीयू) सबैभन्दा ठूलो दल बनेको छ। तर, उनले सरकार बनाउनका लागि गठबन्धन गर्नुपर्ने देखिएको छ। निर्वाचनमा चरम दक्षिणपन्थी दल ‘अल्टर्नेटिभ फर जर्मनी’ (एएफडी) दोस्रो स्थानमा रह्यो।
आइतवार सम्पन्न मतदानमा सीडीयूले ३० प्रतिशतभन्दा कम मत प्राप्त गरेको छ भने एएफडीले २० प्रतिशत मत हासिल गरेको छ। सीडीयूको जितपछि मेर्ट्सले समर्थकहरूलाई धन्यवाद दिँदै नयाँ सरकार गठनका लागि तत्काल प्रक्रिया अघि बढाइने बताए।
पूर्वी जर्मनीमा भने एएफडीको प्रभाव व्यापक देखिएको छ। सार्वजनिक प्रसारक जेडडीएफका अनुसार पूर्वी क्षेत्रमा उक्त दलले ३४ प्रतिशत मत प्राप्त गरेको छ। एएफडीकी उम्मेदवार एलिस वाइडलले जनताले परिवर्तनको पक्षमा मतदान गरेको बताउँदै गठबन्धन सरकार धेरै समय नटिक्ने दाबी गरिन्।
सीडीयूले सरकार बनाउन अर्को दलको साथ आवश्यक पर्ने भएकाले गठबन्धनका लागि सम्भावित साझेदार खोजिरहेको छ। हालका चान्सलर ओलाफ शोल्ट्स नेतृत्वको सोशल डेमोक्र्याट्सले भने खराब प्रदर्शन गर्दै १६.४ प्रतिशत मत मात्र ल्याएको छ।
मेर्ट्सले अघिल्ला गठबन्धन सरकारहरू जस्तो अस्थिरता नआओस् भनेर बलियो सरकार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। युरोपका नेताहरूले मेर्ट्सको जितलाई स्वागत गरेका छन् भने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि उनलाई बधाई दिएका छन्।




























