पोखरा, १३ फागुन। पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रिमा करिब पाँच लाख भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने अनुमान गरेको छ। आउँदो बुधवार मनाइने महाशिवरात्रि पर्वका लागि कोषले व्यापक तयारी गरिरहेको जनाएको छ।
मेलाको सफल व्यवस्थापनका लागि एक करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कोषले मन्दिर क्षेत्रको सजावट, साधुसन्तहरूको खानपान र आवास व्यवस्थापन, दर्शनार्थीहरूको सुविधा तथा सुरक्षा व्यवस्थामा विशेष ध्यान दिने जनाएको छ। महाशिवरात्रिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ। साथै, व्यवस्थापनलाई थप प्रभावकारी बनाउन १० वटा उपसमिति गठन गरिएको छ।
मेलाका लागि पशुपति क्षेत्रलाई विशेष रूपमा सजाउने काम तीव्र रूपमा भइरहेको छ। कोषका अनुसार दर्शनार्थीहरूको सुरक्षाका लागि करिब सात हजार प्रहरी परिचालन गरिनेछ। दर्शनमार्गहरूमा निगरानी बढाउन सीसीटीभी क्यामेरा जडान गरिनेछ भने स्वयंसेवा प्रदान गर्न ४१ संस्थाका चार हजार स्वयंसेवक खटाइनेछ। ट्राफिक व्यवस्थापन सहज बनाउन निश्चित स्थानहरूमा पार्किङ स्थलको व्यवस्था मिलाइने कोषले जनाएको छ।
यस वर्षको महाशिवरात्रिमा वातावरणमैत्री पहलस्वरूप कोषले पशुपति मन्दिर क्षेत्रमा काँच तथा प्लास्टिकका कप, प्लेट प्रयोग गर्न नपाइने निर्णय गरेको छ। खाद्य तथा सेवा वितरण गर्ने संस्थाहरूलाई पात, कागजजस्ता जैविक विकल्पहरू प्रयोग गर्न निर्देशन दिइएको छ।
यसबीच, साधुसन्तहरू पशुपति क्षेत्रमा आउन थालेका छन्। मेलालाई स्वच्छ र व्यवस्थित बनाउन भोलिदेखि फागुन १६ गतेसम्म विशेष सरसफाइ अभियान सञ्चालन गरिने कोषले जनाएको छ।




























