पोखरा, १३ फागुन। नेकपा (माओवादी केन्द्र) ले तराई-मधेश जागरण अभियान सुरू गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झापाको कचनकवल गाउँपालिकामा रहेको हुकाहुकी चोकबाट अभियानको औपचारिक शुभारम्भ गर्नुभयो।
अभियान शुभारम्भ कार्यक्रममा अध्यक्ष प्रचण्डले नागरिकसँगको सम्बन्धलाई अझै जीवन्त बनाउन यो अभियान महत्वपूर्ण हुने बताउनुभयो। उहाँका अनुसार अभियानका लागि चयन गरिएको हुलाकी राजमार्गले तराई-मधेशका आदिवासी जनजातिसँग समेत सम्बन्ध गहिरो बनाउनेछ।
कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले यो अभियान ऐतिहासिक भएको दाबी गर्नुभयो। उहाँका अनुसार पूर्वदेखि पश्चिमसम्मका जातजाति, धर्म, संस्कृति र सम्प्रदायलाई एकीकृत गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको छ।
यसैक्रममा, उपमहासचिव जनार्दन शर्माले विगतमा पार्टीले गरेका कमी-कमजोरीलाई पाँच महिनासम्म विभिन्न तहमा छलफल गरी नागरिकमाझ जाने निर्णयसहित अभियान संचालन गरिएको बताउनुभयो। अभियानले पार्टी र जनताबीचको सम्बन्ध पुनःस्थापित गर्ने विश्वास नेताहरूले व्यक्त गरेका छन्।


























