
पोखरा, १३ फागुन। महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्र विकास कोषले विशेष शोभायात्रा आयोजना गरेको छ। पशुपतिनाथ मूल मन्दिरअगाडिको पश्चिम ढोकाबाट सुरू भएको शोभायात्राको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्नुभएको हो।
शोभायात्रा पशुपति क्षेत्र हुँदै भुवनेश्वरी चोक, चारशिवालय, पिङ्गलास्थान, गौशाला, जयवागेश्वरी, सिफल, लामपोखरी, चावहिल गणेशस्थान, चावहिलचोक, मित्रपार्क, उमाकुण्ड हुँदै पुनः भुवनेश्वरी चोकमा पुगेर समापन भएको छ। पशुपतिनाथ परिसरलाई भक्तजनका लागि आकर्षक रूपमा सजाइएको छ।
महाशिवरात्रि पर्व व्यवस्थित रूपमा सम्पन्न गर्न कोषले मूल समारोह समिति गठन गरेको छ। सो समितिअन्तर्गत १० वटा उपसमिति बनाई तयारीहरू तीव्र पारिएको छ। नेपाल तथा भारतलगायत विभिन्न स्थानबाट साधुसन्त आउने क्रम जारी रहेको र उनीहरूको बसोबास तथा खानपानको व्यवस्था मिलाइएको कोषले जनाएको छ।
कोषले पशुपतिनाथ क्षेत्रमा आउने दर्शनार्थीको सुविधाका लागि विशेष सुरक्षाका साथै व्यवस्थित दर्शन व्यवस्थापन गर्ने जनाएको छ। महाशिवरात्रि पर्वलाई भव्य रूपमा मनाउन सम्पूर्ण तयारी पूरा भइसकेको कोषको दाबी छ।



























