पोखरा, १३ फागुन। अमेरिका भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले शान्ति स्थापनाको अर्थ युक्रेनको आत्मसमर्पण मात्र नहुने बताएका छन्। रुसले युक्रेनमा आक्रमण गरेको तीन वर्षपछि युक्रेनको युद्ध अन्त्यका लागि म्याक्रोन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच छलफल भएको हो।
ट्रम्पले शान्ति स्थापनाका लागि अमेरिका र युरोपेली राष्ट्रहरूले मूल्य चुकाउनु पर्ने आवश्यकता औंल्याएका छन्। यसअघि किभमा भएको सम्मेलनमा युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले यस वर्ष युद्धको अन्त्यको आशा व्यक्त गरेका थिए।
२४ फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण थालेको थियो। हालको वार्तामा रुसको प्रतिबद्धता र विगतका खराब व्यवहारको विषयमा पनि चर्चा भएको छ। म्याक्रोनले पुटिनलाई शान्ति स्थापनाका लागि विश्वलाई विश्वस्त पार्नुपर्ने बताएका छन्।
वार्तापछि भएको पत्रकार सम्मेलनमा ट्रम्पले म्याक्रोनको प्रशंसा गर्दै धेरै सकारात्मक पहल भएको बताए। उनले युक्रेन र अमेरिकाबीचका खनिजहरूको व्यापारमा युरोपेली राष्ट्रहरूको सहयोग आवश्यक भएको पनि बताएका छन्।




























