पोखरा, १५ फागुन। इलाम नगरपालिकाले कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि स्थानीय पाठ्यक्रम तयार गरे पनि शैक्षिक सत्रको अन्त्यसम्म पाठ्यपुस्तक वितरण गर्न सकेको छैन। ‘इलामको सेरोफेरो’ नामक पाठ्यक्रम विद्यालयमा लागू गरिए पनि विद्यार्थीले अझै पुस्तक हातमा पाउन सकेका छैनन्, जसले गर्दा उनीहरू परीक्षाको मुखमा अन्योलमा परेका छन्।

शिक्षकहरूले पाठ्यक्रमका आधारमा पठनपाठन गराइरहे पनि पाठ्यपुस्तकको अभावले विद्यार्थीहरूले अध्ययनमा कठिनाइ भोग्नुपरेको छ। शिक्षकको कक्षागत पढाइको भरमा मात्र परीक्षामा राम्रो नतिजा ल्याउनुपर्ने बाध्यता विद्यार्थीहरूलाई परेको छ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख राधिका घिमिरेका अनुसार शिक्षकहरूले पाठ्यक्रमका आधारमा पढाइ गराइरहेकाले पुस्तक नहुँदा फरक नपर्ने उनको दाबी छ। तर, विद्यार्थीहरू भने पाठ्यपुस्तकविना अध्ययन प्रभावकारी नहुने भन्दै चिन्तित देखिन्छन्।

नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्दा इलामको राजनीतिक, भौगोलिक, ऐतिहासिक, धार्मिक सम्पदा, कम्प्युटर, पर्यटन, वातावरण संरक्षण, स्वास्थ्य, खेलकुदजस्ता विषय समेटिएको जनाएको छ। कक्षा ३ सम्मको पाठ्यपुस्तक वितरण भइसके पनि कक्षा ४ को छपाइमा गइसकेको र कक्षा ५ को तयारी भइरहेको जनाइएको छ।

शिक्षा शाखाका अनुसार सबै कक्षाका पाठ्यपुस्तक आगामी असारसम्ममा तयार गर्ने योजना रहेको छ। तर, ऐनअनुसार अनिवार्य रूपमा लागू गरिनुपर्ने स्थानीय पाठ्यक्रमको पुस्तक समयमा नबन्दा विद्यार्थीहरू परीक्षाको अन्तिम समयमा समेत पाठ्यपुस्तक नपाएर अन्योलमा परेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0