पोखरा, १५ फागुन। रौतहटको मौलापुर नगरपालिकास्थित पतौराधाम महादेव मन्दिरमा जारी मधानी महायज्ञको चौथो दिन सम्पन्न सांस्कृतिक कार्यक्रममा नेपाल–भारतका कलाकारहरूको विशेष प्रस्तुति रहेको छ। लाखौँ श्रद्धालु महायज्ञमा सहभागी भएका छन्।

मधानी विशेष सांस्कृतिक कार्यक्रममा भोजपुरी सिने जगतका लेखक तथा निर्माता बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, चर्चित गायक एवं अभिनेता रितेश पाण्डेसहित नेपाल–भारतका ख्यातिप्राप्त कलाकारहरूको सहभागिता रहेको थियो। महाकुम्भ मेलाबाट चर्चामा आएकी मोनालिसासहित सुनील पंडित, अनु चौधरी, गौरभनारायण राई, सदाम हुसेन, रचना सिवाकोटी, मनीषा राई लगायतका कलाकारहरूले विशेष प्रस्तुति दिएका थिए।

कार्यक्रमअघि कलाकारहरूले शिवमन्दिरमा दर्शन गरेका थिए। नेपाल र भारतबाट आएका हजारौँ भक्तजन तथा दर्शकहरूको भिडलाई व्यवस्थापन गर्न सुरक्षाकर्मी र स्वयंसेवकलाई निकै मेहनत गर्नुपरेको थियो।

मधानी महायज्ञ पाँच दिनसम्म सञ्चालन हुने छ। ११ फागुनमा विद्यार्थीहरूले शिक्षा तथा साक्षरतासम्बन्धी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। १२ फागुनमा भगवान शिवको बारात यात्रा निकालिएको थियो भने १३ गते विशेष पूजा तथा शिवमण्डली प्रतिस्पर्धा सम्पन्न भएको थियो। १४ फागुनमा सांस्कृतिक कार्यक्रम र १५ फागुनमा मधानी विशेष दंगल कार्यक्रमसहित महायज्ञ समापन हुनेछ।

मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साहका अनुसार महायज्ञले नेपाल–भारत सम्बन्धलाई अझै सुदृढ बनाउने विश्वास गरिएको छ। पतौराधामस्थित महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने संकल्पसहित यो महायज्ञ आयोजना गरिएको हो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0