पोखरा, १५ फागुन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायलाई संविधानमार्फत स्थापित गर्ने काम माओवादी आन्दोलनकै कारण सम्भव भएको बताएका छन्। सुनसरीको हरिनगर गाउँपालिकामा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले उत्पीडित र उपेक्षित समुदायको संघर्षकै कारण संविधानमा धर्मनिरपेक्षता स्थापित हुन सकेको उल्लेख गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनका लागि जनयुद्ध अपरिहार्य रहेको बताए। उनले माओवादी आन्दोलनकै कारण उत्पीडित समुदायहरू बलियो बनेको र प्राप्त अधिकार कसैले खोस्न नसक्ने दाबी गरे। अन्य दलहरूले विभिन्न बहानामा जनताको अधिकार कटौती गर्न खोजेको भन्दै उनले आफ्नो पार्टी जनताको साथमा रहेर कुनै पनि षड्यन्त्र असफल पार्न तत्पर रहेको बताए।
अध्यक्ष प्रचण्डले तराई–मधेसका सीमावर्ती क्षेत्रमा रहेको समस्या सिंहदरबारसम्म पुर्याउने उद्देश्यसहित ‘जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान’ सञ्चालन गरिएको जानकारी गराए। यस अभियानले दक्षिण नेपालका समस्यालाई राष्ट्रिय एजेन्डाका रूपमा अगाडि बढाउने दाबी गरे।
सोही अवसरमा हरिनगर–६ को मुस्लिम बस्तीमा आयोजित कार्यक्रममा मुस्लिम अगुवाहरूले अध्यक्ष प्रचण्डलाई ज्ञापन पत्र बुझाएका थिए। उनीहरूले सीमावर्ती क्षेत्रका समस्या समाधान गर्न आग्रह गर्दै मुस्लिम समुदायप्रति राज्य संवेदनशील हुनुपर्ने माग राखेका थिए।




























