पोखरा, १५ फागुन। नेपाल वायु सेवा निगमका अधिकांश अन्तर्राष्ट्रिय उडान गर्ने विमानहरू ‘ग्राउन्डेड’ हुँदा हजारौं यात्रु प्रभावित भएका छन्। निगमका चारमध्ये तीन विमान प्राविधिक कारणले ग्राउन्डेड भएपछि विशेष गरी वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरू ठूलो समस्यामा परेका छन्।
बिबिसीका अनुसार निगमका दुईवटा न्यारोबडी र एउटा वाइडबडी विमान सञ्चालनमा आउन नसक्दा यात्रुहरूलाई महँगो हवाई भाडा तिर्नु परेको छ भने कतिपय यात्रुले टिकट नै नपाउने अवस्था सिर्जना भएको छ। निगमका प्रवक्ता रमेश पौडेलले ग्राउन्डेड विमानहरू मर्मतको चरणमा रहेको बताउँदै ती छिट्टै उडान भर्ने दाबी गरेका छन्। उनका अनुसार एक वाइडबडी विमान बिहीवार नै सञ्चालनमा आएको छ भने बाँकी दुई न्यारोबडी जहाज शनिवारसम्ममा सञ्चालन हुने अपेक्षा गरिएको छ।
नेपाल वायुसेवा निगमले हाल १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। तर, विमान ग्राउन्डेड हुँदा निगममा टिकट लिइसकेका हजारौं यात्रु अलपत्र परेका छन्। प्रभावित यात्रुहरूको व्यवस्थापन गर्न अन्य एयरलाइन्सको सहायतामा उडानको व्यवस्था मिलाइरहेको निगमले जनाएको छ।
यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नतिको कारण देखाउँदै उडान कटौती गरिँदा अन्तर्राष्ट्रिय हवाई भाडा अस्वाभाविक रूपमा महँगो भएको छ। यात्रुहरू टिकट नपाएपछि भारतीय सीमावर्ती सहरहरूबाट उडान भर्न बाध्य भएका छन्। बिबिसीका अनुसार, कात्तिकयता मात्रै करिब ५५ हजार यात्रु नेपालबाट भारत हुँदै विदेश गएका छन्।
सरकारी अधिकारीहरूले भैरहवा र पोखरा विमानस्थललाई अन्तर्राष्ट्रिय उडानका लागि सक्रिय बनाउने योजना सुनाए पनि हालसम्म ठोस उपलब्धि भएको छैन। व्यवसायीहरू भैरहवा विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन सके वैदेशिक रोजगारीमा जाने यात्रुहरूको समस्या कम गर्न सकिने बताउँछन्।
यसैबीच, नेपाल वायु सेवा निगमले विमान ग्राउन्डेड हुनुको कारण छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। निगमले कुनै पनि विमान यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राखेर मात्र उडान भर्ने बताएको छ।




























