पोखरा, १७ फागुन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने युवा भीडले नेपालमा बढ्दो वैदेशिक रोजगारीको यथार्थ उजागर गरिरहेको छ। आर्थिक वर्ष २०८०/८१ मा मात्रै ७ लाख ४१ हजार युवा रोजगारीका लागि विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ। खाडी मुलुकहरू प्रमुख गन्तव्य भए पनि पछिल्लो समय युरोपेली देशहरूतर्फ पनि नेपालीहरूको आकर्षण बढ्दो छ।
रोजगारीको अवसर नहुँदा, राजनीतिक अस्थिरता बढ्दै जाँदा, र समाजमा निराशा गहिरिँदै जाँदा यसको असर सडकमा अराजकतासम्म देखिन थालेको विज्ञहरूले बताएका छन्। यही विषयमा पोखरामा भइरहेको १२ औँ एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा ‘निराशा : व्याख्या र वास्तविकता’ शीर्षकमा विशेष अन्तरसंवाद कार्यक्रम आयोजना गरियो।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निराशा चिर्न सरकारसँग सेन्स अफ अर्जेन्सी नभएको टिप्पणी गरे। उनले सरकार परिणाममुखी नभएकै कारण युवामा निराशा बढेको बताए। ‘निराशालाई चिर्न एक्सन र रिजल्ट चाहिन्छ, तर सरकारमाथि कुनै जिम्मेवारीको बोध देखिँदैन,’ थापाले भने।
कार्यक्रममा ‘टिच फर नेपाल’ फेलोसिपकी सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत स्वास्तिका श्रेष्ठले निराशाबीच पनि आशाका किरणहरू रहेको बताइन्। ‘समाजमा निराशा मात्र छैन, आशाका अवसरहरू पनि छन्। प्राथमिकता कसरी निर्धारण गर्ने भन्ने कुराले नै हाम्रो भविष्यमाथि प्रभाव पार्छ,’ उनले भनिन्।

राजनीतिशास्त्रका शोधकर्ता तथा सोसल साइन्स बहाःका सह-निर्देशक जीवन बानियाँले नेपाल मात्र निराशामा डुबेको देश नभएको स्पष्ट पार्दै यसको दर र कारणहरू फरक हुने बताए। ‘नेपालमा निराशा मुख्यतः बेरोजगारी र राजनीतिक अस्थिरताले सिर्जना गरेको छ। तर, यथार्थ के हो भने नेपालले स्वास्थ्य, सूचना प्रविधि, जलविद्युत् जस्ता क्षेत्रमा राम्रो प्रगति गरिरहेको छ,’ उनले थपे।
कार्यक्रममा दर्शकले समेत प्रत्यक्ष सहभागिता जनाएका थिए। छवि सुबेदीले ‘युवा किन विदेशिन बाध्य छन्? शिक्षित युवाले किन देश छोडिरहेका छन्?’ भन्दै प्रश्न गर्दा अर्का दर्शकले प्रदेशको भूमिकामाथि प्रश्न उठाए।
गगन थापाले जवाफ दिँदै संघले प्रदेशलाई आवश्यक अधिकार नदिएको र प्रदेशलाई समस्याको मूल कारण बनाउने प्रवृत्ति हावी भएको बताए। ‘संघीयताको सही अभ्यास नगरिकन प्रदेशलाई मात्र दोष लगाउने प्रवृत्ति गलत हो,’ उनले भने।
नेपालमा बढ्दो वैदेशिक रोजगारी, बेरोजगारी र राजनीतिक अस्थिरताले सिर्जना गरेको निराशा चिर्न सरकार, राजनीति र समाजले एकजुट भएर अघि बढ्नुपर्ने वक्ताहरूको निष्कर्ष थियो।



























