पोखरा, २० फागुन। तराई–मधेशको समग्र विकासका लागि महत्त्वपूर्ण मानिएको हुलाकी राजमार्ग निर्माणमा ढिलाइ हुँदै आएको छ। १६ वर्षअघि सुरू भएको आयोजना अझै पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। सुरुवाती लागत ४७ अर्ब २४ करोड रुपैयाँ तोकिएको यो आयोजनाको लागत संशोधन हुँदै १ खर्ब १ अर्ब रुपैयाँ पुगिसकेको छ।

हालसम्म कुल १,८५७ किलोमिटर सडकमध्ये १,२९७ किलोमिटर मात्र निर्माण सम्पन्न भएको छ। यस्तै, २५० पुल निर्माण गर्ने लक्ष्य राखिए पनि १४२ पुल मात्र तयार भएका छन्। भारतीय अनुदानबाट निर्माण हुने ३०५ किलोमिटर सडकमध्ये अधिकांश पूरा भइसकेका छन् तर केही खण्ड हस्तान्तरण हुन बाँकी छ।

निर्माणमा भएको ढिलाइले लागत निरन्तर बढ्दै गएको छ। नेपाली सेनाको स्वीकृतिको पर्खाइ, वातावरणीय मूल्यांकन तथा स्रोत अभावका कारण कतिपय खण्डमा ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन। हालसम्म ६७ अर्ब रुपैयाँ भुक्तानी भइसकेको भए पनि अझै ३४ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

निर्देशनालयका अनुसार, सरकारले हुलाकी सडकका लागि पर्याप्त बजेट उपलब्ध नगराउँदा समस्या गहिरिएको हो। गत वर्ष ८ अर्ब रुपैयाँ माग गरिएकोमा मात्र डेढ अर्ब रुपैयाँ भुक्तानी गरिएको थियो। चालू वर्षमा ३ अर्ब २९ करोड मात्र विनियोजन गरिएको छ, जुन आवश्यक बजेटको तुलनामा निकै कम हो।

योजना कार्यालयका अनुसार, चितवन, कपिलवस्तु, दाङ, बाँके, र अन्य क्षेत्रमा पर्ने करिब २०१ किलोमिटर सडकका लागि ठेक्का प्रक्रियासमेत अघि बढ्न सकेको छैन। यदि आवश्यक बजेटको सुनिश्चितता गरिएन भने निर्माण कार्य अझै लम्बिने सम्भावना देखिन्छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0