पोखरा, २० फागुन। फागुन ३ गते पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा बेलुन विस्फोट हुँदा उपप्रधानमन्त्री विष्णु पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएपछि जलन उपचारको चरम अभावको विषयले राष्ट्रिय बहसको रूप लिएको छ। घटनापछि दुवैलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर अस्पताल पुर्याइएको थियो। घटनाको केही समयपश्चात् दुवैको अनुहारमा जलनको घाउ देखिन थालेको थियो। चिकित्सकहरूका अनुसार जलनको घाउ तत्काल नदेखिने र समयसँगै जटिल बन्दै जाने भएकाले बिरामीलाई निरन्तर निगरानीमा राख्नुपर्ने हुन्छ।
यस घटनाले जलन उपचारको अभावलाई उजागर मात्र गरेन, सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरू पनि जन्मायो। कतिले स्वास्थ्य लाभको कामना गरे भने कतिले असंवेदनशील टिप्पणीहरू गरे। केहीले यस घटनालाई कमलपोखरीको म:म पसलमा भएको ग्यास विस्फोटसँग जोडेर टिप्पणी गरे। यसअघि पनि कांग्रेस नेता चन्द्रकान्त भण्डारी जलनबाट घाइते हुँदा यस विषयले चर्चा पाएको थियो। तर, यस्ता घटनाहरू भएपछि मात्र जलन उपचारको विषय सतहमा आउने र समयसँगै सेलाउने गरेको छ। भण्डारीले संसदमा जलन अस्पतालको आवश्यकता औँल्याएपछि सरकारले यस विषयमा ध्यान दिएको थियो।
हाल कीर्तिपुर अस्पतालमा जलन उपचारका लागि ३५ शय्या मात्र उपलब्ध छन् भने सुष्मा कोइराला मेमोरियल अस्पतालमा पनि जलन केन्द्रित उपचार हुन्छ। तर, यी अस्पतालहरू देशभरका जलन बिरामीका लागि अपर्याप्त छन्। प्रदेशस्तरमा जलन केन्द्रित उपचार गर्ने अस्पताल नहुँदा बिरामीहरूले ठूलो सास्ती खेप्नुपरेको छ। जलनमा पर्दा तुरुन्तै उपचार नपाउँदा बिरामीले जीवनभर जटिलता भोग्नुपर्ने अवस्था छ। पोखरा महानगर प्रमुख आचार्यको जलनको घाउमा बरफ लगाउनु गलत भएको चिकित्सकहरूले बताएका छन्। चिकित्सकका अनुसार जलन भएको ठाउँमा आधा घण्टासम्म पानीले चिस्याउनुपर्छ र बरफको प्रयोग गर्नुहुँदैन।
नेपालमा ७० प्रतिशत जलनका घटना घरभित्रै हुने गरेको र देशभर ९० वटा उपचार केन्द्र भएमा दुई घण्टाभित्रै प्राथमिक उपचार गर्न सकिने चिकित्सकहरू बताउँछन्। गण्डकी प्रदेशमा विगत सात वर्षमा आगलागीका कारण ६३ जनाले ज्यान गुमाएका छन् भने १९५ जना घाइते भएका छन्। पोखरा महानगर प्रमुख आचार्यले एक वर्षभित्र पोखरामा सुविधासम्पन्न जलन युनिट वा अस्पताल बनाउने प्रतिबद्धता जनाएका छन्। उनले विद्यालय तहको पाठ्यपुस्तकमा जलनसम्बन्धी सचेतना र प्राथमिक उपचारको विषय समावेश गर्न पहल गर्ने बताएका छन्।




























