पोखरा, २० फागुन। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको बताएका छन्। बेलायतमा युरोपेली नेताहरूसँगको शिखर सम्मेलनपछि जेलेन्स्कीले अमेरिकासँग दुर्लभ खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको बताएका हुन्।

युरोपेली देश तथा क्यानडाका नेताहरूको बैठकमा बेलायती प्रधानमन्त्री केयर स्टार्मरले युक्रेनमा शान्तिको ग्यारेन्टी गर्ने चार–चरण योजना सुनाएपछि जेलेन्स्कीले सम्झौता गर्न तयार रहेको बताएको बीबीसीले जनाएको छ। जेलेन्स्कीले खनिज सम्झौताको बदलामा अमेरिकाबाट युक्रेनको सुरक्षाको ग्यारेन्टी चाहन्छन्।

स्टार्मरले फ्रान्स र अरू केही युरोपेली देशसँग मिलेर युक्रेन युद्धविरामसम्बन्धी प्रस्ताव तयार पारिने बताए। ह्वाइट हाउसको विवादित वार्तापछि युक्रेन युद्धबारे छलफल गर्न र युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन बेलायती प्रधानमन्त्री स्टारमरले युरोपेली देश तथा क्यानडाका नेताहरूको बैठक बोलाएका थिए। यसअघि गएको शुक्रवार युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच चर्काचर्की भएपछि रुससँगको शान्ति सम्झौता र खनिज सम्झौताबारेको बैठक निष्कर्षविना टुंगिएको थियो।

बेलायती प्रधानमन्त्री स्टार्मरले रुस–युक्रेन युद्धको अन्त्य गर्ने तथा युक्रेनलाई रुसबाट बचाउन युरोपेली देशहरूको गठबन्धन बनाउने बताए। युरोपेली देशले सधैँका लागि शान्ति स्थापनाका लागि गठबन्धन गर्ने सहमति गरेका हुन्। बैठकमा युद्धको अन्त्य गर्ने विषयमा युक्रेनको भविष्यको सुरक्षाको ग्यारेन्टी तथा युक्रेनको सार्वभौम रक्षाको विषयलाई महत्त्व दिने सहमतिसमेत गरेका छन्। यसैगरी, बेलायत र युक्रेनबीच साढे दुई अर्ब पाउन्डको ऋण सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। युक्रेनले यो रकम सैन्य उपकरण खरिदमा प्रयोग गर्ने बताएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0