विराटनगर, २० फागुन। सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी नियन्त्रण गर्न नेपाल प्रहरीले सक्रियता बढाएको छ। पछिल्लो समयमा सीमावर्ती भारतीय बजार जोगबनी तथा आसपासका क्षेत्रबाट भन्सार छलेर, न्यून विजकीकरण तथा न्यून मूल्याङ्कन गरी तस्करी हुने क्रम बढेको थियो। यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीको स्थानीय युनिट र राजस्व अनुसन्धान कार्यालयको टोली सक्रिय भएका हुन्।
यसै क्रममा इलाका प्रहरी कार्यालय रानीको टोलीले भन्सार छलेर नेपाल भित्र्याइएको करिब ४५ लाख रुपैयाँ बराबरको विभिन्न सामग्रीसहित एक भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा परिचालित टोलीले युपी ८७ ९१८१ नम्बरको भारतीय ट्रकलाई विराटनगर १८ बाट इलेक्ट्रोनिक्स सामग्री, फुड सप्लिमेन्ट्सका सामग्री, कस्मेटिक्स र मेडिकल सामग्रीसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाएको हो।
प्रहरीले नियन्त्रणमा लिएको ट्रकमा रहेको सामग्रीहरु विभिन्न सातवटा भन्सार प्रज्ञापनपत्रमार्फत नेपाल भित्र्याइएको र त्यसक्रममा करिब १३ लाख ८१ हजार रुपैयाँ भन्सार तिरिएको बुझिएको छ। तर, प्रहरी प्रतिवेदनमा उल्लेख भएअनुसार सो ट्रकमा बढी मूल्यको सामान रहेको र त्यसलाई न्यून भन्सार लिएर पास गरी नेपाल भित्र्याइएको अनुमान गरिएको छ। राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख अनुसन्धान अधिकृत उत्तम घिमिरेका अनुसार प्रहरीले बुझाएको ट्रकसहितको सामग्री, त्यसको यथार्थ मूल्याङ्कन, भन्सारको यथार्थ दर, असुली गर्नुपर्ने राजस्व रकमलगायतको विषयमा सूक्ष्म अनुसन्धान गरी छानविन र कारवाही प्रक्रिया अगाडि बढाइनेछ।
यसअघि पनि सशस्त्र प्रहरी बलको ड्युटी टोलीको सेटिङमा भन्सार छलेर नेपाल भित्र्याइएको विभिन्न मेडिकल उपकरण नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएर कारवाही गरेको थियो। पछिल्लो समयमा सीमा सुरक्षाका अतिरिक्त राजस्व चुहावट नियन्त्रणमा परिचालित सशस्त्र प्रहरी बलको स्थानीय युनिटकै समन्वयमा तस्करी हुन थालेपछि कोशी प्रदेश प्रहरी कार्यालयको निर्देशन र समन्वयमा जिल्ला प्रहरी कार्यालय र स्थानीय युनिटले सक्रियता देखाएको हो।
भारतीय बजारबाट विशेष गरी कपडाजन्य सामग्रीका साथै चिनी, जिरा मसला, तेल, काजु, किसमिसलगायतका विभिन्न दैनिक उपभोग्य सामग्री भन्सार छलेर नेपाल भित्र्याउने क्रम बढेपछि नेपाल प्रहरीका अतिरिक्त राजस्व अनुसन्धान कार्यालयको गस्ती टोली पनि सक्रिय बनेको छ।




























