पोखरा, २२ फागुन। नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दीपक’ लागूऔषध कारोबारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गुप्तासहित दुईजनालाई दोषी ठहर गरेको हो।

अदालतका सूचना अधिकारी भेषराज खनालका अनुसार दोषी ठहर गरिएका गुप्तासहितका व्यक्तिहरूको सजाय निर्धारण भने अझै बाँकी छ। अदालतले छिट्टै सजाय निर्धारण गरी फैसला गर्ने आदेश दिएको छ।

२०७९ असोज २४ गते दर्ता भएको यो मुद्दा लामो प्रक्रिया पार गर्दै अदालतले ५७ औँ पेशीमा टुंगो लगाएको हो। मुद्दामा गुप्तासहित जितेन्द्र पासवान, रघुनाथप्रसाद धोबी, रामा गुप्ता (रामा साह) र विवेकप्रसाद पाण्डे प्रतिवादी थिए। तीमध्ये गुप्तासहित दुई जनालाई दोषी ठहर गरिएको हो।

जिल्ला प्रहरी कार्यालयले २०७९ असोजमा ९०/९० थान डाइजेपाम, नुर्फिन र फेनार्गन लागूऔषध कारोबारमा संलग्न भएको अभियोगमा उनीहरूमाथि मुद्दा चलाएको थियो।

गुप्ताले २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा विजयी हासिल गरेका थिए। उनले ४ हजार ३५१ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र साहनीले ३ हजार ८६५ मत पाएका थिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0