पोखरा, २२ फागुन। पाँचथरको फालेलुङ गाउँपालिका–३ र ४ नम्बर वडाको संगमस्थल थाप्ली डाँडामा दोस्रो फालेलुङ पर्यटन महोत्सव हुने भएको छ। सिर्लिङ्गी टारमा आयोजना हुने महोत्सव चैत १८ देखि २३ गतेसम्म सञ्चालन हुनेछ।
महोत्सवको मुख्य उद्देश्य आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नु रहेको आयोजक तीन सिमाना जनसेवा समाज नेपालले जनाएको छ। भारतसँग सीमा जोडिएको यो क्षेत्र समुन्द्र सतहबाट करिब तीन हजार मिटर उचाइमा अवस्थित छ। यहाँबाट सगरमाथा, कञ्चनजङ्घा, कुम्भकर्ण र मकालु हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
महोत्सवमा ८ किलोमिटर लामो साहसी म्याराथन प्रतियोगिता, फुटबल प्रतियोगिता, डोरी तान्ने खेल, घोडा दौड रेस, याक राइडिङ जस्ता कार्यक्रम समावेश गरिएका छन्। चर्चित गायिका बबिना किरातीले समापन समारोहमा विशेष सांगीतिक प्रस्तुति दिनेछिन्।
स्थानीय परिकार तथा हस्तकलाको प्रवर्द्धन गर्न स्टलहरू रहनेछन्, जसमा याङ्बेन, चौरीको घ्यू, भेडाको उनबाट बनेका असकोट, मालिङ्गोको चोयाबाट निर्मित सामग्रीहरू प्रदर्शन गरिनेछ। आयोजकका अनुसार महोत्सवमा पाँच हजारभन्दा बढी दर्शक तथा पर्यटक सहभागी हुने अपेक्षा गरिएको छ।





























