पोखरा, २२ फागुन। स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन सरकारले सुरक्षा प्रबन्ध कडा गर्ने भएको छ। गृहमन्त्री रमेश लेखकले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूसँगको छलफलपछि गृह मन्त्रालयमा भएको बैठकमा गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उच्च सतर्कताका साथ सुरक्षा रणनीति कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

स्ववियु निर्वाचनलाई आम निर्वाचनसरह महत्त्वका साथ लिइएको छ। सुरक्षा प्रत्याभूति गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका एआईजीहरूको नेतृत्वमा विशेष सुरक्षा सेल गठन गरिएको छ। सुरक्षा तयारीबारे गृह मन्त्रालयमा आयोजित बैठकमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित सुरक्षा अधिकारीहरूको उपस्थिति थियो। सो बैठकमा हरेक जिल्ला प्रहरी कार्यालयमा स्ववियु निर्वाचनलाई लक्षित गरी सम्पर्क व्यक्ति तोक्ने निर्णय गरिएको छ।

सरकारले त्रिभुवन विश्वविद्यालय निर्वाचन समितिसँग समन्वय गर्दै सुरक्षा कमान्ड गठन गरेको छ। त्रिवि केन्द्रीय निर्वाचन समितिका संयोजक शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीको नेतृत्वमा गठित तीन सदस्यीय समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकारीहरू रहेका छन्। उक्त कमान्डले स्ववियु निर्वाचनको मतदाता नामावली प्रकाशनदेखि मतगणनासम्म आवश्यक सुरक्षाका उपायहरू अपनाउने निर्णय गरेको छ।

काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसहरूमा सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ। सरस्वती क्याम्पस, नेपाल ल क्याम्पस र रत्नराज्य क्याम्पसजस्ता स्थानमा निर्वाचन प्रक्रिया अवरुद्ध भएकाले थप सुरक्षाकर्मी परिचालन गरिनेछ। हुलहुज्जत गर्ने समूह पहिचान गरी नियन्त्रण गर्ने, फर्जी मतदाता निगरानी गर्न सादा पोशाकका प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ।

फागुन २१ गते मतदाता सूची प्रकाशन भएसँगै निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको छ। मनोनयनपत्र वितरणदेखि उम्मेदवार नामावली प्रकाशनसम्मका सबै चरणहरू त्रिवि कार्यतालिका अनुसार अघि बढ्नेछन्। चैत ५ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ।

सरकारले स्ववियु निर्वाचनको सुरक्षालाई प्राथमिकतामा राख्दै प्रहरी परिचालन, शान्ति सुव्यवस्था कायम गर्ने उपायहरू अपनाउने र निर्वाचनलाई भयरहित बनाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0