पोखरा, २२ फागुन। पोर्चुगलमा पहिलोपटक स्थापना गरिएको नेपाली राजदूतावासले आगामी मार्चको तेस्रो सातादेखि औपचारिक रूपमा कन्सुलर सेवा सुरु गर्ने तयारी गरेको छ। दूतावासले आवश्यक प्रक्रिया पूरा गरी नयाँ भवनको व्यवस्थापनसमेत टुंग्याउने अन्तिम चरणमा रहेको जनाएको छ।
लिस्बनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामबाबु नेपालका अनुसार पोर्चुगलको परराष्ट्र मन्त्रालयसँग आवश्यक सहप्रमाणीकरणको प्रक्रिया अघि बढिसकेको छ। उनले स्वीकृति प्राप्त हुनेबित्तिकै आफ्नै मातहतबाट सेवा सुरु गर्ने जनाउँदै मार्च दोस्रो सातासम्म सम्पूर्ण प्रक्रिया पूरा हुने अपेक्षा राखिएको बताए। यदि सबै प्रक्रिया समयमै टुंगिएमा मार्च २० बाट सेवा सुरु गर्न सकिनेछ।
हाल दूतावास भवन भाडामा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। कार्यवाहक राजदूतसमेत रहेका नेपालले भारत, पाकिस्तान र बंगलादेशका दूतावासहरूसँग नजिकै सुविधाजनक स्थानको खोजी भइरहेको जानकारी दिए। हालसम्म सम्झौतामा हस्ताक्षर भइनसकेको भए पनि प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए।
पोर्चुगलमा रहेका नेपाली समुदाय आफ्नै देशको दूतावासबाट सेवा लिन उत्साहित देखिन्छन्। हालसम्म नेपालीहरूले फ्रान्सको पेरिसस्थित नेपाली दूतावासबाट सेवा लिनुपर्ने बाध्यता थियो। नेपालले दूतावासमार्फत कागजात प्रमाणीकरणदेखि राहदानी सेवासम्मको प्रक्रिया अघि बढाइने र नेपाली समुदायलाई सहज सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए।
नेपाल सरकारले स्थापना गरेको पोर्चुगलस्थित नेपाली दूतावास नेपालकै सबैभन्दा नयाँ दूतावास हो। यहाँ राजदूतसहित चार जनाको दरबन्दी रहेको छ। दूतावासका अनुसार नेपाली राजदूत प्रकाशमणि पौडेल एक साताभित्रै लिस्बन पुग्नेछन् र पहिलो राजदूतका रूपमा औपचारिक कार्यभार सम्हाल्नेछन्।




























