पोखरा, २२ फागुन। गुल्मी जिल्लाका ग्रामीण बजारहरूमा पहिलोपटक व्यापक रूपमा अनुगमन गरिएको छ। यसअघि सदरमुकाम क्षेत्रमै सीमित रहँदै आएको बजार अनुगमन अब जिल्लाका दुर्गम क्षेत्रसम्म विस्तार गरिएको हो।

बजारमा म्याद गुज्रेका सामग्री बिक्री भइरहेको, उचित मूल्य सूची नराखिएको र व्यावसायिक दर्ता नवीकरण नगरेका पसलहरू भएको गुनासो बढेपछि विभिन्न संघ–संस्थाहरूको समन्वयमा अनुगमन गरिएको हो। घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको नेतृत्वमा चन्द्रको बजार र वामीटक्सार बजारमा अनुगमन गरिएको छ।

अनुगमन टोलीले किराना, मदिरा, हार्डवेयर, औषधि, कपडा पसल तथा होटलहरूमा निगरानी राखेको थियो। घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालका अनुसार अनुगमनको उद्देश्य कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री हटाउने र उपभोक्ताहरूलाई उनीहरूको अधिकारबारे सचेत गराउनु रहेको छ।

अनुगमनका क्रममा १३६ वटा पसलमा निरीक्षण गरिएको थियो। केही पसलहरूलाई सुधारका लागि लिखित निर्देशन दिइएको छ भने सुधार नदेखिए कानुनी कारबाही गरिने चेतावनी दिइएको छ। अनुगमनका क्रममा व्यवसायीहरूले व्यावसायिक दर्ता, नवीकरण, मूल्य सूची तथा बिल व्यवस्थापन नगरेको पाइएकाले आवश्यक सुधारका लागि सुझाव दिइएको छ।

अनुगमन टोलीले १ लाख २८ हजार रुपैयाँ बराबरका म्याद गुज्रेका सामग्री बरामद गरी नष्ट गरेको छ। बजार अनुगमन कार्यलाई निरन्तरता दिँदै उपभोक्ताको हकहित संरक्षणका लागि कठोर कदम चालिने कार्यालयले जनाएको छ। अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, भेटेनरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा पत्रकारहरूको समेत सहभागिता रहेको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0