पोखरा, २३ फागुन। पोखराको लेकसाइडस्थित वाराहीघाट क्षेत्रमा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञका लागि भूमिपूजन कार्य शुक्रबार सम्पन्न गरिँदैछ। मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाद्वारा आगामी २०८२ साल बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म सञ्चालन गरिने यस धार्मिक अनुष्ठानको भूमिपूजन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको शुभ साइत अनुसार बिहान १० बजेर २१ मिनेट जाँदा गरिने तयारी छ।

कोटिहोम महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजका अनुसार भूमिपूजनको क्रममा पूर्व मोहडामा पूजाआजा गरिनेछ। महायज्ञ अवधिभर श्रीमद्भागवत, श्रीराम कथा, शिवमहापुराण, श्री हनुमान कथा तथा श्रीमद्देवी भागवत जस्ता धार्मिक प्रवचन विभिन्न ख्यातिप्राप्त कथा वाचकहरूद्वारा प्रस्तुत गरिने छन्। साथै लाखौंको ब्रतबन्ध, विवाह, चौरासी पूजा, तुलादान, कोटि दीप प्रज्वलन, तीन सयभन्दा बढी ब्राह्मण पुरोहितद्वारा नियमित हवन, अरबौं रामनाम लेखन तथा एक करोड पार्थिव शिवलिङ्ग निर्माण गरिने कार्यक्रम छ।

यस भव्य धार्मिक आयोजनामा राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, ११ हजार कलश पूजन, हजारौं बालिकाको कन्या पूजन, जेष्ठ नागरिक सम्मान, शास्त्र सम्मेलन तथा २१ फिट अग्लो रुद्राक्ष शिवलिङ्ग निर्माण गरिनेछ। त्यस्तै शंकराचार्य, जगद्गुरु, विभिन्न अखडाका महन्त, धर्मगुरु तथा विश्व प्रसिद्ध कथा वाचकहरूको उपस्थितिले महायज्ञलाई थप गरिमा प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै, गण्डकी प्रदेशका प्रमुख तीर्थस्थलहरूको फोटो प्रदर्शनी तथा सनातन धर्म संसद, धर्म संसद जस्ता विशेष कार्यक्रमको आयोजना गरिनेछ।

धार्मिक, सामाजिक तथा सांस्कृतिक चेतना प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिन लागेको यस महायज्ञमा उत्कृष्ट सामाजिक सेवाको सम्मान, गण्डकी प्रदेशका धर्म, संस्कृति तथा परम्परालाई उजागर गर्ने गतिविधि र धार्मिक साहित्य तथा कलाका विभिन्न विधामा सर्वोत्कृष्ट प्रदर्शन गर्नेलाई विशेष पुरस्कार प्रदान गरिने जनाइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0