पोखरा, २५ फागुन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा लगाइएको यात्रा प्रतिबन्धलाई पुनः लागू गर्ने तयारी गरेका छन्। रिपोर्टका अनुसार, ट्रम्पले अफगानिस्तान, पाकिस्तान र अन्य केही देशका नागरिकहरूलाई अमेरिकामा यात्रा गर्न प्रतिबन्ध लगाउने तयारी गरिरहेका छन्। यो प्रतिबन्ध अर्को हप्तादेखि लागू हुनसक्ने संभावना छ।
ट्रम्पले जनवरी २० मा एक कार्यकारी आदेश जारी गर्दै मन्त्रिपरिषदका सदस्यहरूलाई प्रतिबन्ध लाग्नुपर्ने देशहरूको सूची बनाउन निर्देशन दिएका थिए। उनले ती देशहरूको ‘जाँच र निगरानी प्रक्रिया अत्यन्तै कमजोर’ भएको बताएका छन्।
ट्रम्पका अघिल्ला प्रतिबन्धहरूमा मुस्लिम-बहुल देशहरूको नागरिकलाई लक्ष्य बनाइएको थियो। सन् २०१८ मा अमेरिकी सर्वोच्च अदालतले यी प्रतिबन्धहरूको अनुमोदन गरेको थियो। यस नयाँ सूचीमा अफगानिस्तान, पाकिस्तान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला र यमनका नागरिकहरू पर्न सक्छन्।


























