पोखरा, २६ फागुन। अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसको अवसरमा सोमबार काठमाडौंमा ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ आयोजना हुने भएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ।
उक्त सम्मेलनमा पूर्वप्रधानन्यायाधीश, बहालवाला न्यायाधीश तथा सर्वोच्च, उच्च र जिल्ला अदालतका ६० महिला न्यायाधीशहरूको सहभागिता रहनेछ। कार्यक्रमका दौरान न्यायिक क्षेत्रका महिलाहरूले पेशागत अनुभव, कार्यगत चुनौती तथा न्याय सम्पादन प्रक्रियामा देखिएका विभिन्न व्यवस्थापन पक्षबारे विचार आदानप्रदान गर्नेछन्।
सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लका अनुसार यो सम्मेलन महिला न्यायाधीशहरूको व्यावसायिक क्षमताको अभिवृद्धि गर्न तथा कानुनी क्षेत्रमा महिलाको सशक्तीकरण गर्न महत्वपूर्ण रहनेछ। यसअघि, गत चैत ९ गते महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो।




























