पोखरा, २६ फागुन। १ करोड रुपैयाँ बराबरको बीमा रकम हत्याउन आफ्नै पसलमा आगो लगाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका-३ का २८ वर्षीय रमेश शर्मा लोहार छन्, जो हाल पोखरा महानगरपालिका-२७ तालचोकमा बस्दै आएका छन्। कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाको विवरण अनुसार, १६ फागुनमा साँझ ९ बजे पोखरा महानगरपालिका-८ न्यूरोडमा लोहारले सञ्चालन गरेको शर्मा आईटी हबमा आगलागी भएको थियो। तत्कालै कास्कीको जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पौन ८ बजे आगो नियन्त्रणमा लिएका थिए।
तर घटनाको अनुसन्धान गर्दा लोहारले बीमाको रकम दाबी गर्न आफ्नै पसलमा आगो लगाएको खुलासा भएको छ। आगलागीबाट ९४ लाख रुपैयाँ बराबरको क्षति भएको भन्दै उनले १७ फागुनमा वडा प्रहरी कार्यालय बैदाममा निवेदन दिएका थिए। उनले आफूले मोबाइल चार्जमा राखेर वास रुममा गइ आगो लागेको बताए।
लोहारले गत पुस महिनाबाट मासिक ३५ हजार भाडामा आईटी हब सञ्चालन गर्दै आएका थिए र पसलमा दुई जना कामदार रहेका थिए, जुन घटनाको दिन बिदामा रहेका थिए। घटनाको दुई दिनपछि पसल बन्द रहेको पाइयो।
शिखर इन्स्योरेन्स कम्पनीसँग उनले १ करोडको बीमा गरेका थिए। अनुसन्धानका क्रममा बीमाको रकम प्राप्त गर्न उनले जानाजानी आगो लगाएको पुष्टि भएको छ। प्रहरीले उनलाई आपराधिक उपद्रवको आरोपमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।




























