पोखरा, फागुन। भूमध्यसागरीय आहार (Mediterranean Diet) स्वस्थ जीवनशैली अपनाउने प्रभावकारी उपाय भएको विश्व स्वास्थ्य संगठन (WHO) ले जनाएको छ। यो आहारले मुटु रोगलगायत दीर्घरोगहरूको जोखिम कम गर्न सहयोग गर्छ। वैज्ञानिक अनुसन्धानहरूका आधारमा भूमध्यसागरीय आहारले शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य सुधार तथा तौल व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने पुष्टि भएको WHO को निष्कर्ष छ।
WHO का अनुसार, भूमध्यसागरीय आहार प्राकृतिक तथा वनस्पति मूलका खाद्य पदार्थहरूमा केन्द्रित हुन्छ। यसमा ताजा फलफूल, सागसब्जी, गेडागुडी, सम्पूर्ण अनाज, माछा तथा स्वस्थ बोसोयुक्त खानाहरू प्रमुख रहन्छन्। यस आहारमा जैतुन तेल, बदाम, अखरोट, चना, दाल, ब्राउन राइस तथा माछाको सेवनलाई प्राथमिकता दिइन्छ।
यस आहारमा प्रशोधित खाद्य पदार्थहरू, सेतो चामल, सेतो पिठो, चिल्लो मासु, अत्यधिक नुनयुक्त परिकार तथा परिष्कृत चिनी प्रयोग गरिएका खानेकुराहरूको कम प्रयोग गरिनु उपयुक्त मानिन्छ। यस्ता खाद्य पदार्थहरूले मुटु रोग, मधुमेह तथा क्यान्सरको जोखिम बढाउने WHO ले चेतावनी दिएको छ।
WHO का अनुसार, भूमध्यसागरीय आहारले केवल तौल घटाउन मात्र होइन, समग्र स्वास्थ्य सुधार गर्न मद्दत गर्छ। यसले रक्तचाप, रक्तमा चिनीको मात्रा तथा कोलेस्ट्रोल सन्तुलन गर्न सघाउँछ। साथै, यो आहारमा पाइने उच्च मात्राको फाइबर तथा एन्टिअक्सिडेन्टहरूले शरीरलाई आवश्यक पोषण प्रदान गर्छ।
भूमध्यसागरीय आहारलाई स्वास्थ्यकर आहारको रूपमा लिनेहरूमा निद्रा सुधार हुने, मानसिक स्वास्थ्य सबल हुने तथा डिप्रेसनको जोखिम कम हुने पाइएको WHO को अध्ययनले देखाएको छ। साथै, यस आहारले मधुमेहको सम्भावना घटाउने तथा शरीरमा बोसोको मात्रा सन्तुलन गर्ने भूमिका खेल्ने उल्लेख गरिएको छ।
WHO का अनुसार, भूमध्यसागरीय आहार अपनाउनका लागि साना परिवर्तनहरू गर्नुपर्छ। यसका लागि दैनिक आहारमा फलफूल तथा सागसब्जी थप्ने, सेतो चामलको सट्टा ब्राउन राइस प्रयोग गर्ने, तेलमा मक्खनको ठाउँमा जैतुन तेल प्रयोग गर्ने तथा रातो मासुको उपभोग घटाउने बानी बसाल्न सकिन्छ।
स्वास्थ्य सुधारका लागि भूमध्यसागरीय आहार प्रभावकारी माध्यम रहेको WHO को निष्कर्ष छ। यसलाई दीर्घकालीन स्वस्थ जीवनशैलीका रूपमा अपनाउन सकिने बताइएको छ।




























