पोखरा, २६ फागुन। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारप्रति चुलिँदो असन्तुष्टिका कारण राजावादी र हिन्दुवादी समूहहरू सक्रिय बनेको बताएका छन्। खुमलटारमा बसेको बैठकमा उनले कांग्रेस–एमाले नेतृत्वको सरकार जनअपेक्षा अनुसार काम गर्न नसक्दा प्रतिगामीहरू सलबलाएको निष्कर्ष सुनाएका हुन्।

प्रचण्डले बैठकमा वर्तमान सरकारको कार्यशैली सुधार नभए गणतन्त्रको रक्षा चुनौतीपूर्ण हुने बताए। उनले सरकारको असन्तुष्टिले सडक तताइरहेको उल्लेख गर्दै, ‘हामी अब चुप बस्न मिल्दैन, संघर्ष गरेर ल्याइएको गणतन्त्रलाई हल्लाउने प्रयत्न भइरहेको छ,’ भने।

बैठकमा सहभागी अन्य नेताहरूले पनि सरकारप्रति जनतामा निराशा बढ्दै गएको र त्यसकै फाइदा उठाउँदै राजावादी र हिन्दुवादी शक्तिहरू अराजक गतिविधिमा उत्रिएको बताएका थिए। त्यसैले यस्ता गतिविधिहरूलाई नियाल्न आवश्यक रहेको उनीहरूको भनाइ थियो।

बैठकमा अध्यक्ष प्रचण्डले कुनै पनि आन्दोलनको कार्यक्रम घोषणा गर्नुअघि समाजवादी मोर्चासँग छलफल गर्नुपर्ने प्रस्ताव राखे। उनका अनुसार मोर्चाको बैठकपछि आगामी रणनीति तय गरिनेछ। समाजवादी मोर्चाको बैठक आज अपराह्न ४ बजे बस्दैछ भने भोलि माओवादी पदाधिकारी बैठक बस्ने तय भएको छ।

यसैबीच, माओवादीले राजावादीहरूसँग सशक्त रूपमा सामना गर्न आन्दोलन गर्ने निर्णय गरेपछि तराई मधेस जागरण अभियान छाडेर नेताहरू काठमाडौं फर्किएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0