पोखरा, २६ फागुन। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजतन्त्र फर्कने कुनै माहोल नदेखिएको बताएका छन्। सोमबार कैलालीको गेटा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा कुनै उल्लेखनीय समर्थन नदेखिएको स्पष्ट पारे।

राजावादी समूहले आइतबार संघीय राजधानी काठमाडौंमा प्रदर्शन गरेपछि उत्पन्न परिस्थितिबारे सोधिएको प्रश्नमा देउवाले त्यसलाई खासै महत्व दिनु नपर्ने बताए। उनले भने, “त्यस्तो कुनै माहोल मैले देखेको छैन।”

पत्रकारहरूले आइतबारको प्रदर्शनलाई “अद्भूत” भन्दै टिप्पणी गरेपछि देउवाले त्यसलाई अस्वीकार गरे। “कहाँ अद्भूत भयो? केही भएकै छैन नि,” उनले दोहोर्याए।

पूर्वराजा शाहलाई छिमेकी मुलुक भारतले समर्थन गरिरहेको भन्ने अड्कलबारे पनि देउवालाई प्रश्न सोधिएको थियो। उनले त्यसबारे कुनै ठोस प्रमाण नभएको जिकिर गर्दै भने, “कसैले उचालेर उचालिने कुरा पनि होइन। उचालेको भन्ने कुरा पनि थाहा छैन।”

पत्रकारले भारतले पूर्वराजालाई समर्थन गरेको चर्चा चलेको र नेपालको प्रधानमन्त्रीलाई निमन्त्रणा नदिएको प्रसंग उठाएपछि देउवाले त्यस विषयमा विस्तृत प्रतिक्रिया दिन चाहेनन्। तर, उनले मुलुकको गणतान्त्रिक संरचना दृढ रहेको र राजतन्त्रको पुनरावृत्ति असम्भव रहेको संकेत गरे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0