पोखरा, २६ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा निर्भर नबसी आत्मनिर्भरतातर्फ अघि बढ्न गैरसरकारी संस्थाहरुलाई आग्रह गरेका छन्। गैरसरकारी संस्था महासंघको ११ औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रशस्त सम्भावना रहेकोले उत्पादन र उत्पादकत्व वृद्धिमा ध्यान दिनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको युगमा एक्लैले सबै काम गर्न नसकिने भए पनि नेपालजस्तो उर्वरभूमि भएको देशले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने उल्लेख गरे। विकास निर्माणका प्रयासमा कुनै अवरोध आउन नदिने उनको प्रतिबद्धता थियो। साथै, सामाजिक संस्थाहरूले असफलताको मात्र होइन, सफलताको कथा पनि प्रवाह गर्नुपर्ने सुझाव उनले दिए।
राजतन्त्र पक्षधरहरूको आइतबारको प्रदर्शनतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीविरुद्ध लाग्नेहरूलाई समय नभएको बताए। ‘जुलुस निकाल्न विदेशीको तस्वीर राख्नुपर्ने अवस्थामा हामी छैनौं,’ उनले भने, ‘अलोकतान्त्रिक, असंवैधानिक सोचप्रति हामीसँग समय छैन। हामी हरेक दिन एक कदम अगाडि बढ्ने सोचसहित समृद्ध नेपालको यात्रामा छौं।’
उनले गैरसरकारी संस्थाहरुलाई समाज सुधार, विकास र उत्पादनमुखी कार्यमा केन्द्रित हुन पनि निर्देशन दिए। सरकार आत्मनिर्भरताका लागि आवश्यक नीति निर्माण गर्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले सहकार्यका लागि सबैलाई आह्वान गरे।































