पोखरा, २७ फागुन। काठमाडौँ जिल्ला प्रशासनले संवेदनशील स्थानहरूमा जुलुस, धर्ना, भेला तथा सभा गर्न निषेधाज्ञा जारी गरेको छ। पछिल्लो समय राजावादी समूहहरूको प्रदर्शन तथा चहलपहल बढ्दै गएपछि सुरक्षा संवेदनशीलता मध्यनजर गर्दै प्रशासनले दुई महिनाका लागि निषेध आदेश जारी गरेको हो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार निषेधाज्ञा आइतबारदेखि लागू हुनेछ। निषेधाज्ञा राष्ट्रपतिको कार्यालय शीतलनिवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार, तथा संसद् भवन रहेको नयाँ बानेश्वर क्षेत्रलाई लक्षित गरी जारी गरिएको छ।

प्रशासनले ती स्थानमा पाँच जनाभन्दा बढी भेला भएर अनशन, धर्ना, जुलुस तथा विरोध सभा गर्न पूर्णतः रोक लगाएको छ। निषेधाज्ञा उल्लङ्घन गरे कानुनी कारबाही गरिने प्रशासनको चेतावनी छ।

राजधानीका विभिन्न स्थानमा राजावादी समूहहरूले निरन्तर प्रदर्शन गर्दै आएकाले सम्भावित अशान्ति रोक्न सुरक्षालाई उच्च प्राथमिकता दिइएको प्रशासनको दाबी छ। निषेधाज्ञा जारी भएपछि ती स्थानमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0