पोखरा, २७ फागुन। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको माहोल तात्दै गएको छ। चैत ५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ। ६० वटा आंगिक क्याम्पस र ३ सयभन्दा बढी त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचनको प्रक्रिया तीव्र रुपमा अघि बढिरहेको छ। यद्यपि, बुटवल बहुमुखी र भैरहवा क्याम्पसमा भने निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ।
सोमबार उम्मेदवार मनोनयनपत्र वितरण गरिएको थियो भने आज समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया सञ्चालन हुनेछ। प्रमुख विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अनेरास्ववियु (क्रान्तिकारी) ले आफ्ना केन्द्रीय नेता खटाएका छन्।
स्ववियु निर्वाचनका क्रममा विभिन्न अवाञ्छित गतिविधि हुन सक्ने सम्भावना रहेकाले काठमाडौं उपत्यका लगायतका निर्वाचन हुने सम्पूर्ण क्याम्पसमा सुरक्षा व्यवस्था कडा पारिएको छ। त्रिवि निर्वाचन समितिले तोकेको कार्यतालिकाअनुसार आगामी २८ गते प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको दाबी विरोध प्रक्रिया सम्पन्न हुनेछ। सोही दिन ५ बजेभित्र उम्मेदवारहरूको छानबिन गरी अन्तिम नामावली प्रकाशन गरिनेछ।
फागुन २९ गते दिनको १ बजेसम्म उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। त्रिविले प्रचारप्रसारको समय फागुन २९ गते दिउँसो २ बजेदेखि चैत २ गते राति १२ बजेसम्म तोकेको छ। त्यसपछि मौन अवधि लागू हुनेछ, जसअनुसार उम्मेदवारहरूले कुनै पनि निर्वाचनसम्बन्धी गतिविधि गर्न पाउने छैनन्।
यसैबीच, गृहमन्त्री रमेश लेखकले स्ववियु निर्वाचनको सुरक्षालाई विशेष ध्यान दिन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्टारसहितको बैठकमा गृहमन्त्रीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूलाई समेत निर्वाचन शान्तिपूर्ण बनाउन निर्देशन दिनुभएको हो। सोहीअनुसार एआईजीको नेतृत्वमा केन्द्रीय सुरक्षा सेल गठन गरिएको छ।
निर्वाचन हुने जिल्लाहरूमा प्रत्येक जिल्ला प्रहरी कार्यालयमा सम्पर्क व्यक्ति तोकिएको छ। निर्वाचन हुने क्याम्पसका प्रमुख र जिल्ला प्रहरी प्रमुखको समन्वयमा सुरक्षा संयन्त्र निर्माण गरिएको छ। निर्वाचनका क्रममा हुलहुज्जत नियन्त्रण गर्ने, फर्जी मतदाताको निगरानी गर्ने, र सुरक्षाका लागि आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको छ।
फागुन १९ गतेदेखि सुरु भएको स्ववियु निर्वाचन प्रक्रियामा हालसम्म राजधानीको पिपल्स क्याम्पसमा निर्वाचन स्थगित भएको छ भने बुटवल बहुमुखी र भैरहवा बहुमुखी क्याम्पसमा तालाबन्दीका कारण निर्वाचन प्रक्रिया प्रभावित भएको छ। अनेरास्ववियुका अध्यक्ष समिक बडालले अनेरास्ववियु (क्रान्तिकारी) र नेविसंघले तालाबन्दी गरी निर्वाचन प्रक्रियालाई अवरुद्ध पारेको आरोप लगाउनुभएको छ।
२०७९ सालको निर्वाचनमा उपत्यकाका ४ र बाहिरका ८ गरी १२ आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन। त्रिविले यस वर्ष सबै आंगिक क्याम्पसमा निर्वाचन सम्पन्न गर्ने तयारी गरिरहेको छ।



























