पोखरा, २८ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले बदलिंदो परिस्थितिमा राष्ट्रिय सुरक्षालाई मजबुत बनाउँदै देखा पर्न सक्ने नयाँ चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले परम्परागत सुरक्षा चुनौतीहरूका अतिरिक्त सूचना प्रविधिको दुरुपयोग, साइबर अपराध, अन्तरदेशीय अपराध, जलवायु परिवर्तन, लागुऔषध दुव्र्यसन तथा सामाजिक सञ्जालको अनियन्त्रित प्रयोग जस्ता कारक तत्वले सुरक्षालाई झन् संवेदनशील बनाएको उल्लेख गरे।

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको २४औं वार्षिकोत्सवका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा परिवेशमा देखिएका नयाँ प्रवृत्तिहरूको अध्ययन, विश्लेषण र समयसापेक्ष रणनीति आवश्यक रहेको बताए। उनले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सुरक्षा निकाय, राजनीतिक दल तथा सरोकारवाला निकायबीच समन्वय अपरिहार्य रहेको उल्लेख गरे।

उनले राष्ट्रिय सुरक्षाको सुदृढीकरणका लागि ‘होल अफ द नेशन’ को अवधारणा अनुसार सबै पक्षहरू मिलेर अघि बढ्नुपर्ने धारणा राखे। प्रधानमन्त्री ओलीले राष्ट्रका लागि सुरक्षा नीति निर्माण र कार्यान्वयनमा एकरूपता आवश्यक रहेको भन्दै सुरक्षाका आयामहरू आधुनिक प्रविधिसँग सँगै विकसित हुनुपर्ने धारणा व्यक्त गरे।

विसं २०५८ साल फागुन २७ गते स्थापना भएको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले परिषद्को कार्य सहजीकरण गर्दै सुरक्षासम्बन्धी आवश्यक नीति तथा रणनीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। उक्त सचिवालयले सुरक्षा अवस्थाको विश्लेषण, सम्भावित चुनौतीहरूको पहिचान तथा समाधानका उपायहरूमा सुझाव प्रस्तुत गर्दै आएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0