पोखरा, २८ फागुन। प्रमुख प्रतिपक्षी दललाई वेवास्ता गरेको आरोप लगाउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कडा जवाफ फर्काएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा विपक्षी दलका नेताका रूपमा सम्बोधन गर्ने क्रममा प्रचण्डले सरकारको रवैया प्रतिपक्षी दललाई उपेक्षा गर्ने खालको रहेको बताएका थिए।

तर गगन थापाले भने संसद्‌भित्र कांग्रेसलाई पेलेर निर्णय लिइएको समयको स्मरण गराउँदै ‘संसद्‌मा प्रमुख प्रतिपक्षलाई ठेलठाल गरिएको पनि याद छ’ भन्दै प्रचण्डलाई कटाक्ष गरे। गगनको भनाइसँगै संसद्‌मा रहेका प्रचण्ड हाँसेका थिए।

स्मरणीय छ, प्रधानमन्त्री रहेका बेला प्रचण्डले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गर्ने क्रममा कांग्रेसको विरोधबीच आफ्नो पक्षमा निर्णय गराएका थिए। त्यतिबेला कांग्रेसले आपत्ति जनाउँदा समेत प्रचण्डले विश्वासको मत लिएका थिए।

यसैबीच, मंगलबारको बैठकमा प्रचण्डले आफ्नै सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली संसद्‌मा अनुपस्थित रहेकोप्रति गुनासो पोखेका थिए। उनले ‘विपक्षी दलको नेता बोल्दा संसद्‌मा प्रधानमन्त्री अनुपस्थित हुने यो घमण्ड, संस्कारहीनता हो कि कुण्ठा हो?’ भन्दै ओलीलाई प्रश्न गरेका थिए।

यसअघि गत माघ २४ गते पनि प्रचण्डले सम्बोधन गर्दा प्रधानमन्त्री ओली अनुपस्थित थिए। मंगलबार उनी कोशी प्रदेशसभालाई सम्बोधन गर्न विराटनगर गएका कारण संसद्‌को बैठकमा उपस्थित हुन सकेनन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0