पोखरा, २८ फागुन। काठमाडौं उपत्यकाका तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर होली पर्व मनाउन सबैलाई अनुरोध गरेका छन्।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले मंगलबार एक सूचना जारी गर्दै भनेका छन्, ‘सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ।’ उनले होलीको अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला र झैझगडा नगर्न, मादक पदार्थको सेवन गरी पारिवारिक र सामाजिक जनजीवनमा खलल नगर्न आग्रह गरेका छन्।
पौडेलले भने, ‘यस्ता अमर्यादित कार्य नगर्न/नगराउन सबैमा अनुरोध छ।’ उनले आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन नहुनेगरी सांस्कृतिक पर्व मर्यादित, अनुशासित र व्यवस्थित ढंगले मनाउन पनि आग्रह गरेका छन्।
ललितपुर र भक्तपुर प्रशासनले पनि छुट्टाछुट्टै सूचना जारी गरी होली पर्व शान्तिपूर्ण र संस्कृतिअनुसार सभ्य भएर मनाउन आग्रह गरेका छन्। यही फागुन २९ गते पहाडमा र चैत १ गते तराईमा होली पर्व मनाइँदै छ।




























