पोखरा, २८ फागुन। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले शिक्षा ऐनलाई यही संसद्को अधिवेशनबाटै जारी गर्ने गरी सरकारले काम अघि बढाएको बताएका छन्। उनले शिक्षा ऐन मात्र नभई अड्किएका अन्य कानुनहरू पारित गर्नका लागि प्रमुख दुई दल मिलेर सरकार गठन गरिएको पनि स्पष्ट पारे।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा नेपाल शिक्षक महासङ्घद्वारा आयोजित धर्ना कार्यक्रममा महासचिव पोखरेलले राज्यले शिक्षकको मागलाई ध्यानमा राख्दै संविधानको मर्मअनुसार शिक्षा ऐन पारित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले शिक्षा ऐनको विषयमा सहमति जुटाउन शिक्षक महासङ्घको सहयोग आवश्यक रहेको बताए।
महासचिव पोखरेलले नेपालमा शिक्षाको विकासमा राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै राजनीतिक दलकै योगदानले शिक्षामा सुधार आएको धारणा राखे। उनले शिक्षालाई उद्यमशीलता र जीवन उपयोगी सीपसँग जोड्नुपर्नेमा जोड दिँदै अबको शिक्षाले व्यावहारिक र दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए।
शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मणकिशोर सुवेदीले शिक्षक तथा कर्मचारीहरूको हकहित संरक्षणका लागि चाँडै शिक्षा ऐन जारी गर्नुपर्ने माग राखे। उनले प्रमुख राजनीतिक दललाई दबाब दिनका लागि नै धर्ना कार्यक्रम गरिएको बताए।
शिक्षा ऐनको शीघ्र पारितको माग राख्दै महासङ्घले दोस्रो चरणको आन्दोलनअन्तर्गत फागुन २७ देखि चैत ५ गतेसम्म विभिन्न राजनीतिक दलका कार्यालय अगाडि धर्ना दिने कार्यक्रम घोषणा गरेको छ।




























