पोखरा, २८ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले नेपालमा अबको व्यवस्था बदल्ने बेला आएको बताएका छन्। उनले देशमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै जनता स्वयं राजसंस्थाको पक्षमा उभिएको दाबी गरे।
बर्दियामा आयोजित बृहत् मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै उनले भ्रष्ट नेताहरूको बिदाइ गर्न तथा देशमा शान्ति सुव्यवस्था कायम गर्न राजसंस्था आवश्यक रहेको बताए। सनातन हिन्दु अधिराज्य पुनःस्थापना गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले धर्म, संस्कृति, र परम्पराको संरक्षणका लागि हिन्दु अधिराज्य अपरिहार्य भएको बताए।
उनले हालैका अन्तर्राष्ट्रिय टिप्पणीहरू उद्धृत गर्दै नेपालमा धर्म तथा संस्कृति मास्ने काम भएको आरोप लगाए। ‘अमेरिकी राष्ट्रपति, सांसदहरू र भारतीय नेताहरूले समेत नेपालको धार्मिक र सांस्कृतिक मूल्यमान्यतामा आक्रमण भएको कुरालाई उठाइरहेका छन्। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले समेत नेपाल र अमेरिका दुवैतर्फ भ्रष्टाचार व्यापक रहेको बताएका छन्,’ उनले भने।
राजसंस्था र हिन्दु अधिराज्य पुनर्स्थापनाको लक्ष्य प्राप्त नभएसम्म राप्रपाले आफ्नो अभियान जारी राख्ने उनले बताए। ‘नेताहरूले हाम्रो धर्म, संस्कृति बेचेको कुरा अब स्पष्ट भइसकेको छ। अब सम्पूर्ण राजसंस्थावादी, हिन्दु अधिराज्य पक्षधर, गणतन्त्र विरोधी, संघीयता र भ्रष्टाचारका विरोधीहरू एकजुट हुन आवश्यक छ,’ उनले आह्वान गरे।
राप्रपा आन्दोलन परिचालन समितिले फागुन महिनाभर सातै प्रदेशका प्रमुख सहरहरूमा मोटरसाइकल र्याली सञ्चालन गर्ने तथा चैत महिनामा काठमाडौँ केन्द्रित आन्दोलन गर्ने कार्ययोजना बनाएको छ।





























