पोखरा, २८ फागुन। कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आयोजित ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘सञ्चार क्षेत्रमा पत्रकार महिलाको अर्थपूर्ण सहभागिता’ सम्बन्धी अन्तरक्रियामा सरोकारवालाले सञ्चार क्षेत्रमा महिला पत्रकारको सङ्ख्या वृद्धिका लागि महिला मैत्री सञ्चार गृहको आवश्यकता औंल्याएका छन्।

सङ्गठनका अनुसार, महिला पत्रकारको सङ्ख्या बढाउनका लागि सञ्चार गृहहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने र महासङ्घले यसको अनुगमन र पहल गर्नुपर्ने महत्त्वपूर्ण आवश्यकता रहेको बताएका छन्। यसै क्रममा, प्रदेश मुख्यमन्त्री कार्यालयकी राज्यमन्त्री सिर्जना राईले महिला पत्रकारको सङ्ख्या वृद्धि र सञ्चार क्षेत्रका महिला सशक्तीकरणका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै, समाजमा महिला र पुरुष बीचको विभेदलाई अन्त्य गर्न सबैले एकजुट भएर लाग्नुपर्ने भनाइ राखिन्।

मन्त्रालयका सचिव हेमराज तामाङले महिलालाई न्यून पारिश्रमिकमा काम नगर्न आग्रह गर्दै, महिलाका लागि लेखन वृत्तिको रकम वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सुशीला पाठक, उपाध्यक्ष द्वय सन्तोष सिग्देल र तारा आचार्य, सचिव नेत्र पी अधिकारी लगायतका सरोकारवालाले महिला पत्रकार र स्थानीय सञ्चार गृहको प्रवर्द्धनका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

कार्यक्रममा महासङ्घ मोरङका पूर्वअध्यक्ष बन्धु पोखरेलले ‘पत्रकारितामा महिला पत्रकारको स्थायित्वको सवाल’ र कान्तिपुर टेलिभिजनका उपसम्पादक महाप्रसाद खतिवडाले ‘सञ्चार क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता र भावी रणनीति’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0