पोखरा, २ चैत्र। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग राख्दै आन्दोलनरत शिक्षकहरूको चासोलाई गम्भीर रूपमा लिन सरकारलाई आग्रह गरेका छन्। नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले शिक्षकका मागलाई उपेक्षा गरिए त्यसको प्रत्यक्ष असर शिक्षाक्षेत्रमा पर्ने चेतावनी दिए।

प्रचण्डले विधेयक पारित गर्ने प्रक्रिया चुनौतीपूर्ण रहेको स्वीकार्दै पनि यसको तत्काल पारित गर्नुपर्नेमा जोड दिए। ‘अहिले संशोधनहरू दर्ता भएका छन्, तीमध्ये कतिपय एउटै प्रकृतिका छन्। उपसमिति बनाएर भए पनि विधेयक छिटो पारित गर्न सकिन्छ,’ उनले भने, ‘तर मुख्य कुरा इच्छाशक्तिको हो। शिक्षा र शिक्षकका विषय सरकारको प्राथमिकतामा नपर्दा ढिलाइ भएको हो।’

उनले देशको समग्र विकास र समृद्धिको आधार शिक्षा भएको उल्लेख गर्दै शिक्षाका लागि स्पष्ट दृष्टिकोण आवश्यक रहेको बताए। शिक्षा सुधारमा सरकारको गम्भीरता नदेखिएको उनको गुनासो थियो। ‘शिक्षा मात्र होइन, भौतिक पूर्वाधारको समेत आधार हो। विकासले गति नलिनु, अराजकता फैलिनु, नैतिक मूल्य घट्नुको मुख्य कारण शिक्षाबारे सही बुझाइको अभाव हो,’ उनले भने, ‘म सरकारमा हुँदा विद्यालय शिक्षा सुधारसम्बन्धी विज्ञ प्रतिवेदन संकलन गर्नै धेरै समय लाग्यो। कार्यान्वयनको चरणमा पुर्याउन खोजे पनि अहिले सरकारले अघि बढाउन सकेको छैन।’

शिक्षक महासंघका प्रतिनिधिहरूले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराउने पहल प्रचण्ड नेतृत्वको सरकारले गरेको स्मरण गराउँदै विधेयक पारित गराउन माओवादी केन्द्रको विशेष भूमिका रहने विश्वास व्यक्त गरे। शिक्षक प्रतिनिधिहरूले आफूहरू ‘डू एन्ड डाइ’ अवस्थामा पुगेको भन्दै माओवादी केन्द्रलाई संसदमा दबाबमूलक भूमिका खेल्न अनुरोध गरे।

प्रचण्डले पनि शिक्षकका मागलाई संसद र सडक दुवैबाट सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाए। ‘विगतमा पनि माओवादी पार्टी शिक्षकका मागमा दृढ भएर उभियो। यसपटक पनि हामी शिक्षकहरूको पक्षमा उभिनेछौं,’ उनले आश्वासन दिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0