पोखरा, २ चैत्र। उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने सरकारको कुनै योजना नरहेको स्पष्ट पारेका छन्। उनले हालै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएको यस्तो हल्लाको पछि नलाग्न आग्रह गरे।
नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सिंहले अहिले सरकारमाथि अनावश्यक भ्रम सिर्जना गर्न खोजिएको बताए। उनले २०६९ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने अध्यादेश ल्याए पनि अहिले सरकार त्यस्तो कुनै तयारीमा नरहेको प्रस्ट पारे।
सिंहले सरकारविरुद्ध विभिन्न माध्यमबाट हल्ला फैलाउने कार्य भइरहेको दाबी गरे। उनले यस्ता अफवाहको पछि लाग्दा प्राप्त अधिकार गुम्न सक्ने खतरा रहेको भन्दै सतर्क रहन आग्रह गरे। ‘हल्लाको पछि लाग्ने होइन, सत्य बुझ्न आवश्यक छ,’ उनले भने, ‘गलत सूचना प्रचार गरेर जनतामा भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ, त्यसप्रति सचेत रहनुपर्छ।’
उपप्रधानमन्त्री सिंहले वर्तमान संविधानले दिएका अधिकार कुनै दल वा नेतृत्वले सहजै प्रदान गरेको नभई जनताले संघर्ष गरेर प्राप्त गरेको स्मरण गराए। उनले यी अधिकारको रक्षा गर्दै जनताको जीवनस्तर सुधार गर्न सरकारले निरन्तर प्रयास गरिरहेको बताए।
त्यस्तै, नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले कांग्रेसभित्रको गुटबन्दी अन्त्य गर्दै पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखे। ‘यो गुट, त्यो गुट होइन, सबै मिलेर पार्टीलाई सशक्त बनाउनु आवश्यक छ,’ उनले भने, ‘कांग्रेसको मुख्य चुनौती पार्टी व्यवस्थापन हो, त्यसैले कांग्रेसलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ।’
उनले कांग्रेस बलियो भए मात्र लोकतन्त्रलाई संस्थागत गर्न सकिने भन्दै आन्तरिक रूपमा एकता आवश्यक रहेको बताए। ‘हाम्रो ध्यान विभाजन होइन, संगठन सुदृढीकरणमा रहनुपर्छ,’ उनले थपे।
सिंहको भनाइले पछिल्लो समय फैलिएको अफवाहलाई चिर्ने प्रयास गरेको देखिन्छ। उनले सरकारको प्राथमिकता जनताको अधिकार र सुविधाको संरक्षणमै केन्द्रित रहेको उल्लेख गरे।




























