पोखरा, ३ चैत्र। काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न बोलाइएको विशेष सभा स्थगित भएको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले सोमबारका लागि बैठक आह्वान गरेका थिए। तर सहमतिको प्रयासस्वरूप बैठक हाललाई रोकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठक कहिले बस्ने भन्ने टुंगो लागिसकेको छैन।
उपकुलपति चयन प्रक्रिया अन्योलमा पर्दै आएको छ। छनोट समितिले नाम सिफारिस नगरेपछि प्रधानमन्त्री ओलीले विशेष सभा बोलाएका थिए। समितिका संयोजक पूर्वउपकुलपति सुरेशराज शर्माले भने आफ्नो तर्फबाट प्रतिवेदन बुझाइसकेका छन्। उनले तीन जनाको नाम प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका भए पनि ती नामहरू सार्वजनिक गरिएको छैन।
तर समितिका अन्य दुई सदस्य डा. अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल सहमत नभएकाले शर्माले बुझाएको प्रतिवेदनलाई औपचारिक मान्यता दिइएको छैन। प्रधानमन्त्रीको सचिवालयका अनुसार एक सदस्यको मात्रै प्रतिवेदन स्वीकार्य नहुने भएकाले पूर्ण सहमतिका लागि छलफल आवश्यक देखिएको छ।
उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्टमा परेको थियो। तीमध्ये भोला थापा, बालचन्द्र लुँइटेल, अच्युत वाग्ले, राजेन्द्र प्रसाद कोजु, कन्हैया झा, जनार्दन लामिछाने, विभूति रञ्जन झा, वेदमणी दाहाल, श्याम नारायण लाभ र सुबोध शर्मा रहेका छन्। ती सबैको अन्तर्वार्ता फागुन ३ गते नै सकिएको भए पनि समितिभित्र सहमति जुट्न नसक्दा प्रक्रिया अवरुद्ध भएको हो।
अबको बैठकले सहमति जुटाएर उपकुलपतिका लागि नाम टुंग्याउने वा थप विवाद सिर्जना गर्ने भन्ने विषय विश्वविद्यालयका सरोकारवालाहरूका लागि चासोको विषय बनेको छ।




























