पोखरा, ४ चैत्र। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले सेन्सर बोर्डका सदस्यहरूको योग्यतामाथि प्रश्न उठाउँदै राजनीतिक नियुक्ति पाएका सदस्यहरूलाई पदमुक्त गर्न माग गरेका छन्। उनले आइतबार प्रतिनिधिसभा बैठकमा सेन्सर बोर्डमा राजनीतिक नियुक्ति भएका ननसेन्सर सदस्यहरूलाई हटाएर चलचित्र बुझेका व्यक्तिहरूलाई नियुक्त गर्न सरकारसँग माग गरेका हुन्।
सांसद शाहले भने, “सेन्सर बोर्डमा राजनीतिक नियुक्ति पाएका सबै ननसेन्सर सदस्यहरूलाई पदमुक्त गरी चलचित्र बुझेका मान्छेलाई नियुक्त गर्न म सरकारसँग माग गर्दछु।” उनले चलचित्रलाई समाजको ऐना ठहराउँदै त्यसमा अभिव्यक्त गरिएको विचारमा सरकारले अंकुश लगाउने काम गरिरहेको आरोप पनि लगाए।
उनले चलचित्रमा अनावश्यक “कैँची” चलाउँदा सरकारको आयु पनि काटिने चेतावनी दिए। “फिल्ममा अनावश्यक कैँची चलाउँदा सरकारको आयु पनि त्यही कैँचीले काटिएला,” उनले भने।
सांसद शाहले सेन्सरसिपविरुद्धको चलचित्रकर्मीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै, सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको भाषणलाई चलचित्र “राजागंज”मा समेटिएको विषयमा बोर्डको आपत्ति र त्यसपछि प्रदर्शन अनुमति दिएको घटनाप्रति असहमतिपूर्ण विचार राखे।

































