पोखरा, ५ चैत्र। अस्थायी युद्धविराम समाप्त भएयता इजरायलले गाजामा सबैभन्दा ठूलो हमला गरेको छ। इजरायली सेनाको निरन्तर हवाई कारबाहीका कारण पछिल्लो २४ घण्टामा कम्तीमा ३३० जना मारिएका छन्। हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेअनुसार मारिनेहरूमा अधिकांश सर्वसाधारण रहेका छन्।
इजरायली डिफेन्स फोर्स (आईडीएफ) का अनुसार यो हमला हमासका अखडाहरूलाई निशाना बनाएर गरिएको हो। इजरायलले हमासका सर्वोच्च सुरक्षा अधिकारी महमूद अबू वफाहको मृत्यु भएको दाबी गरेको छ। युद्धविराम शुरू भएयता गाजामा गरिएको यो सबैभन्दा विनाशकारी हमला मानिएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले हमलाको आदेश अमेरिकी प्रशासनसँग परामर्श गरेर दिएको बताएको छ। हमासले भने इजरायलको आक्रमणलाई विश्वासघात भनेको छ। उसले यो हमलाले गाजामा रहेका इजरायली बन्धकहरूको भविष्य थप अनिश्चित बनाउने चेतावनी दिएको छ।
यसैबीच, संयुक्त राष्ट्रसंघ र मध्यस्थ राष्ट्रहरूले युद्धविरामको प्रयास जारी राखे पनि इजरायलले आफ्नो कारबाहीलाई निरन्तरता दिने संकेत गरेको छ। गाजामा स्वास्थ्य, पानी, सरसफाइ तथा आधारभूत सेवा पूर्ण रूपमा तहसनहस भइसकेका छन्।































